My Slides

Wednesday, August 11, 2021

जङ्गबहादुर राणाको तलब कति थियो होला ?

 

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ ।

निरंकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके,बर्दिया,कैलाली र कञ्चनपुर) फिर्ता गराए। देशका लागि यस्ता कतिपय महत्वपूर्ण र राम्रा काम पनि जङ्गबहादुरले गरे ।

श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरको तलबचाहिँ कति थियो त?

यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जङ्गबहादुर

लगायत उनका भाइहरू, त्यस बेलाका गुरु पुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब) को विवरण दिइएको छ। यो तलबमान वि.सं. १९१० को हो ।

जङ्गबहादुरलगायत केही राणाको तलब यस्तो छ :

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणा रु. ८३,६२०/
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/
जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/

जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१०
जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/

जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/

त्यो तलबको वर्तमान मूल्य

रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९) मा सन् १८५२ (विसं १९०८) को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्यवस्तुको मूल्यदर अनुसार जङ्गबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ।

त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।

यहाँ नेर जङ्गबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्य अनुसार मूल्यांकन गरौं। अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।

यसअनुसार त्यस बेला एक रुपैयाँमा आउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जङ्गबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/- को अहिलेको मूल्य रु. १५,०५,१६०००/ हुन आउँछ। यसअनुसार विसं १९१० मा जङ्गबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/ थियो।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दरअनुसार जङ्गबहादुरको तलबको वर्तमान मूल्य झन् उच्च हुन आउँछ। २०१७ सालदेखि मात्र भारतीय रुपैयाँ एक सयको नेपाली रुपैयाँ एक सय ६० विनिमय दर स्थीर रूपमा कायम भएको हो।

इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार राणाकालमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँको मूल्य बराबर थियो र कुनै बेला भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महँगो पनि भएको थियो। त्यस बेलाको रुपैयाँ मोहर चाँदीको हुन्थ्यो।

इतिहास शिरोमणि बाबुराम आचार्यले भीमसेन थापाको तलबको विषयलाई लिएर उनको निकै ठूलो आलोचना गरेका छन्। २०१३ सालको मदन पुरस्कारका लागि छनोटमा परेका कृतिमध्ये एक ‘जनरल भीमसेन थापा’ विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा आचार्यले त्यस बेला भीमसेन थापाले थाप्ने वार्षिक तलबलाई अत्यधिक भनेका छन्।

विसं १८७१ मा भीमसेन थापाले लालमोहर गराई मुख्तियारी खान्गी रु. ६,४०१/ मा रु. ४,०००/ थपेर १०,४०१/ बनाएका थिए (पूर्णिमा पूर्णांक ७७:२३)। भीमसेन थापाको यो खान्गीको विषयमा आचार्यले ‘भीमसेन थापा, यिनलाई मैले जस्तो देखेँ’ मा त्यो बेला एक रुपैयाँको चार पाथी मसिनो चामल आउने र त्यो बेलाको भीमसेन थापाको तलब अत्यधिक भएको उल्लेख गरेका छन्।

त्यो बेला आफूले आफैंलाई त्यति धेरै तलब तोक्ने जङ्गबहादुरका सन्तान वि.सं १९४२ मा उनैका कान्छा भाइ धीरशमशेरका छोराहरूले मच्चाएको पर्वमा कोही सखाप भए त कोही लाखापाखा भए ।

उनका सन्तान आज सार्वजनिक परिचय विहीन हुन पुगेका छन् । हरेक वर्ष सरकार र उनका सन्तानले छुट्टाछुट्टै त्रिपुरेश्वरको कालमोचन घाटमा जङ्गबहादुरको श्राद्ध गर्ने गर्छन् ।

सन्दर्भ सामाग्री

अन्नपुर्णपोष्ट
विभिन्न अनलाइनहरू

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender