- शिक्षकहरूले कक्षामा विद्यार्थीलाई अपमानजनक शब्दहरू प्रयोग गर्दा उनीहरूको आत्मविश्वास कमजोर हुन्छ र दीर्घकालीन मनोवैज्ञानिक असर पर्छ।
- डा. उत्कर्ष कार्कीले यस्ता आलोचनाले विद्यार्थीमा मनोवैज्ञानिक आघात र शारीरिक समस्या निम्त्याउन सक्ने बताए।
- शिक्षकहरूले संवेदनशीलता अपनाएर सकारात्मक र रचनात्मक प्रतिक्रिया दिनुपर्ने र सबै विद्यार्थीलाई समान ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
‘कस्तो लद्दु ! यति पनि नजान्ने के गरेर खान्छस् ? तैँले पढेर खाँदैनस् !’
यी कक्षाकोठामा धेरै विद्यार्थीहरूले सुनिरहने वाक्य हुन्, जुन शिक्षकले पढाइमा कमजोर भनिने विद्यार्थीलाई गर्ने गालीहरू हुन् ।
स्कुले जीवन पार गरेर आएका धेरैजसोले यसको अनुभव गरेकै होलान् । आफैँले यस्ता गाली नखाएपनि कक्षाको अर्को साथीलाई भनेको त पक्कै सुनेकै हुनुपर्छ । अनुभव गरेको सम्भवतः अहिले पनि यी शब्दहरू कक्षाकोठाबाट हराएका छैनन् ।
उदाहरणका लागि, जब शिक्षकले होमवर्क नगरेको वा गलत जवाफ दिएको आधारमा विद्यार्थीलाई तिखो शब्दले प्रहार गर्छन्, त्यसले विद्यार्थीमा ‘म असक्षम छु’ भन्ने भावनाको विकास गर्छ । यो भावनाले दीर्घकालीन रूपमा विद्यार्थीको आत्मविश्वास र उत्साहलाई घटाउँछ, जसले उनीहरूलाई सामाजिक र शैक्षिक रूपमा पछाडि धकेल्न सक्छ ।
आत्मविश्वासको कमीले विद्यार्थीलाई हरेक चुनौतीसँग डराउन सिकाउँछ । जस्तै, अग्लो ठाउँमा उभिँदा लड्ने डरले कसैको आत्मविश्वास डगमगाउँछ, त्यसरी नै कक्षामा बारम्बार गाली र आलोचना सुन्दा विद्यार्थी आफ्नो क्षमतालाई लिएर शंका गर्न थाल्छ । उनीहरूले आफूलाई असफल ठान्न थाल्छन् र अवसरहरू खोज्न डराउँछन् ।
शिक्षकहरूले यस्ता शब्दहरूको प्रयोगमा सावधानी अपनाउनुपर्छ । यस्ता शब्दहरूले विद्यार्थीलाई प्रोत्साहन गर्नुको सट्टा उनीहरूको मनोबल तोड्छ । सकारात्मक र रचनात्मक प्रतिक्रियाले विद्यार्थीको आत्मविश्वास बढाउन सकिन्छ, जसले उनीहरूलाई चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ । तसर्थ, शिक्षण प्रक्रियामा संवेदनशीलता र सकारात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ, ता कि विद्यार्थीहरूको आत्मविश्वास र सम्भावनालाई प्रोत्साहन गर्न सकियोस् ।
बेवास्ता : अर्को ठूलो पीडा
विद्यार्थीलाई अपमानजनक शब्दहरूले मात्र होइन, बेवास्ता गरिएको अनुभूतिले पनि गहिरो चोट पुर्याउँछ । शिक्षा प्रणालीमा शिक्षकहरूको ध्यान र समर्थनले विद्यार्थीको मानसिक र शैक्षिक विकासमा ठूलो प्रभाव पार्छ ।
कक्षा कोठामा बालबालिकालाई दिइने ध्यान र आत्मविश्वासले उनीहरूको मानसिक र शैक्षिक विकासमा गहिरो प्रभाव पार्छ । हरेक बच्चा विशेष हुन्छ, तर कक्षामा शिक्षकहरूले प्रायः ‘स्मार्ट’ वा ’जान्ने’ बच्चाहरूलाई बढी ध्यान दिने र उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन् । यसले गर्दा अन्य बच्चाहरू, जो पछाडि छन् वा कम आत्मविश्वास भएका छन्, तिनीहरूले उपेक्षित भएको महसुस गर्नसक्छन् ।
यस्तो उपेक्षा र कम ध्यानले बच्चाहरूमा हीनताबोध, ग्लानि र आत्मविश्वासको कमी पैदा गर्छ, जसले उनीहरूको सिकाइ प्रक्रियालाई अवरुद्ध गर्छ । बालबालिकाले शिक्षकलाई आफ्नो आदर्श मान्छन् र शिक्षकको व्यवहारले उनीहरूको मनोवैज्ञानिक अवस्थामा ठूलो प्रभाव पार्छ । जब बच्चालाई पर्याप्त ध्यान दिइँदैन वा उसको नाम उदाहरणमा लिइँदैन, उसले आफूलाई कमजोर र अयोग्य ठान्न थाल्छ । यस्तो अवस्थाले बच्चाको मनमा गहिरो पीडा र निराशा उत्पन्न गर्छ, जुन उसले व्यक्त गर्न पनि सक्दैन ।
उदाहरणका लागि, यदि शिक्षकले कक्षामा बारम्बार केही बच्चाहरूको मात्र प्रशंसा गर्छन् भने, अन्य बच्चाहरूले आफूलाई मूल्यहीन ठान्न सक्छन्, जसले उनीहरूको सिक्ने उत्साहलाई कम गर्छ ।
यसको विपरीत, यदि बच्चालाई निरन्तर ध्यान र प्रोत्साहन दिइयो भने, उसको आत्मविश्वास बढ्छ । आत्मविश्वासले बच्चालाई आफ्ना कमजोरीहरू व्यक्त गर्न र गल्तीहरूबाट सिक्न प्रेरित गर्छ ।
शिक्षकले सबै बच्चालाई समान रूपमा मूल्य दिँदा, उनीहरूमा सकारात्मक सोच र आत्मविश्वासको विकास हुन्छ, जसले उनीहरूको शैक्षिक र व्यक्तिगत जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।
त्यसैले, शिक्षकहरूले कक्षामा हरेक बच्चालाई समान ध्यान दिने, उनीहरूको सानो–सानो प्रगतिलाई पनि कदर गर्ने, र सबैलाई समान रूपमा उदाहरणको रूपमा प्रस्तुत गर्ने वातावरण बनाउनुपर्छ । यसले बच्चाहरूमा हीनताबोध र ग्लानिको सट्टा आत्मविश्वास र सिक्ने जोस पैदा गर्छ, जसले उनीहरूको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
शिक्षकहरूको आलोचनात्मक शब्दहरूले विद्यार्थीहरूमा पार्ने मनोवैज्ञानिक प्रभाव
शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क नगरेको, पाठ कण्ठ नगरेको वा अन्य कमजोरीका लागि प्रयोग गर्ने आलोचनात्मक शब्दहरू, जस्तै ‘लद्दु’, ‘पढ्नै जान्दैन’, ‘यसले के गरेर खान्छ ?’ आदिले विद्यार्थीहरूको मनोबल र आत्मविश्वासमा गहिरो नकारात्मक प्रभाव पार्न सक्ने बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् ।
उनी भन्छन् ‘यस्ता शब्दहरूले, चाहे नियत राम्रो भए पनि, भावनात्मक दुर्व्यवहारको रूप लिन सक्छ, जुन शारीरिक वा यौन दुर्व्यवहार जस्तै गम्भीर हुन सक्छ, तर प्रायः यसलाई बेवास्ता गरिन्छ ।’
यस्तो आलोचना, विशेष गरी सबैको अगाडि वा तुलनात्मक रूपमा जस्तै ‘यो विद्यार्थी तिमीभन्दा कति राम्रो छ’ गर्दा विद्यार्थीहरूमा हीनताबोध, निराशा र आत्मविश्वासको कमी उत्पन्न हुने कार्की बताउँछन् ।
‘पटक-पटकको यस्तो आलोचनाले विद्यार्थीहरूमा मनोवैज्ञानिक आघात निम्त्याउन सक्छ, जसले स्कूल जान नमान्ने, साथीहरूसँग कुराकानी गर्न हिचकिचाउने, उदासीनता, चिन्ता, वा शारीरिक गुनासो जस्तै, टाउको वा पेट दुख्ने जस्ता समस्या ल्याउँछ । यस्ता लक्षणहरू प्रायः गम्भीर मनोवैज्ञानिक समस्याको संकेत हुन सक्छन्’ डा. कार्की भन्छन् ।
शिक्षकहरूले यस्ता शब्दहरू प्रयोग गर्नुको पछाडि विद्यार्थीलाई सुधार्ने नियत हुन सक्छ, तर शब्द चयन र प्रस्तुति शैलीमा बदल्न आवश्यक छ । सबैको अगाडि होइन, एकान्तमा कुराकानी गरेर विद्यार्थीको व्यवहार वा कमजोरीको कारण बुझ्ने र रचनात्मक प्रतिक्रिया दिने अभ्यासले यस्तो प्रभाव कम गर्न सकिने कार्की सुझाउँछन् ।
शिक्षक र अभिभावकहरूले विद्यार्थीको भावनालाई मान्यता दिँदै, उनीहरूको मनोबल बढाउने र सकारात्मक दृष्टिकोण अपनाउने बानी बसाल्नुपर्छ । यसले विद्यार्थीहरूको आत्मविश्वास र शैक्षिक प्रगतिमा सकारात्मक योगदान पुर्याउने उनले बताए ।
सबैलाई समान ध्यान, प्रोत्साहन र सम्मान दिने वातावरणले मात्र विद्यार्थीहरूको आत्मविश्वास बलियो हुन्छ, र उनीहरू शैक्षिक तथा व्यक्तिगत जीवनमा अघि बढ्न सक्छन् । त्यसैले-शिक्षकहरू शब्द र व्यवहारमा संवेदनशील बन्नुपर्छ । शिक्षकको एक वाक्यले भविष्य बनाउन सक्छ, वा भत्काउन पनि ।
स्रोत - अनलाइन खबर
No comments:
Post a Comment