My Slides

Saturday, June 13, 2020

राष्ट्रिय गानको अपब्याख्या गर्दै विद्यालयहरु

शिक्षा सञ्चार संवाददाता  

काठमार्डौ – नेपाल सरकार गृह मन्त्रालयले तयार पारेको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९ विपरित देश भरका अधिकांश विद्यालयको विहान १० बजे हुने प्रार्थना समयमा छातीमा हात राखेर राष्ट्रिय गान गाउन लगाउने गरेका छन् । छातीमा हात राखेर राष्ट्रिय गान गाउँदा राष्ट्रप्रतिको सेवाभाव प्रकट हुने गलत ब्याख्या गर्दै शिक्षकहरुकै निर्देशनमा शिक्षकहरु सहित विद्यार्थीहरुले राष्ट्रिय गान गाउने गरेको लुकेको छैन । विद्यालयहरुले आयोजना गर्ने वार्षिकोत्सव समारोहका भिडियोहरु हेर्ने हो भनेपनि यसको प्रमाणहरु प्रष्टरुपमा देख्न पाईन्छ । कार्यविधिको परिच्छेद ३ अन्तर्गत दफा १४ मा प्रष्ट रुपमा “सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनु पर्नेछ” उल्लेख गरिएको छ । के छ झण्डा र राष्ट्रिय गान सम्बन्धी ब्यवस्था कार्यविधिमा ? नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको कार्यविधि २०६९मा निम्न कुराहरु उल्लेख गरिएको छः राष्ट्रिय झण्डाको आकार र प्रयोग : (१) राष्ट्रिय झण्डाको प्रयोग गर्ने देहायका निकाय, विशिष्ट व्यक्ति वा संघ संस्थाको लागि देहायमा उल्लेख भए बमोजिम राष्ट्रिय झण्डाको आकार निर्धारण गरिएकोछ : (क) संवैधानिक निकाय तथा सरकारी कार्यालयहरूले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ८×६ फिट, (ख) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६×४ फिट, (ग) संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४×३ फिट, (घ) संवैधानिक निकाय तथा सरकारीे कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०×२० सेन्टिमिटर, (ङ) राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरूको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३×२.५ फिट । (२) नेपाली नागरिकले खण्ड (ग) बमोजिमको राष्ट्रिय झण्डाको अतिरिक्त खण्ड (ङ) बमोजिमको राष्ट्रिय झण्डा समेत प्रयोग गर्न सक्नेछ । त्यसैगरि राष्ट्रिय गान सम्बन्धी निम्न ब्यवस्था उल्लेख गरिएको छः  दफा १३ माः राष्ट्रिय गानको प्रयोगः राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुदको समारोह, रेडियो र टिभी आदिमा राष्ट्रिय गानको प्रयोग अनिवार्यरुपमा गर्नु पर्नेछ । दफा १४ माः राष्ट्रिय गानकोे प्रयोगको समय र विधिः (१) औपचारिक तथा विशेष समारोह र नेपाल सरकारका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ संस्था तथा राजदूतावासहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान वा धुन बज्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, प्रधान न्यायाधीश तथा अन्य पदाधिकारीहरू लागयत सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनु पर्नेछ । सुरक्षा निकायका राष्ट्रसेवकहरुले विभागीय प्रचलन अनुसार राष्ट्रिय धुन बज्दा उचित सम्मान प्रकट गर्नु पर्नेछ । (२) कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनु पर्नेछ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनु पर्नेछ । राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नु पर्नेछ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनको समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिमसम्मान गर्नु पर्नेछ । १५. राष्ट्रिय गानको प्रयोगमा निषेधः राष्ट्रिय गानको अपमान हुने गरी र असान्दर्भिक तवरले प्रयोग गर्न निषेध गरिएको छ ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender