My Slides

Friday, October 15, 2021

विदुर नीतिका अनुसार सुख तथा शान्तिपूर्ण जीवन बिताउने सूत्रहरु

 

हामीले जति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखको वातावरण हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईसँग सम्बन्ध दिगो हुँदैन । किन यी कुराहरु हाम्रो जीवनमा छन् ? यसको उत्तर सदियौंदेखि खोजिदै आएको छ । यी विषयमा हाम्रा पूर्वीय दर्शनका विद्वानहरुले यस्ता समस्याको कारण र समाधानका उपायहरुहरु पनि विभिन्न ग्रन्थको माध्यमबाट हामीलाई बताएका छन् । विदुर नीति, चाणक्य नीति इत्यादि नीतिशास्त्रहरुले हाम्रो समस्याको सहि समाधान खोज्न सघाउँनुका साथै जीवन तथा जगतलाई बुझ्ने चेतना पनि प्रदान गर्दछन् ।


महाभारतको कथामा रहेका महत्वपूर्ण पात्र हुन्, विदुर । उनी हस्तिनापुर राज्यको शीर्ष स्तम्भ मानिन्छन् । नीतिपूर्ण तथा न्यायोचित सल्लाह दिने व्यक्तिको रुपमा विदुरको चरित्रलाई चित्रित गरिएको छ । कौरव–पाण्डवको युद्धलाई रोक्न उनले अनेक यत्न गरेका थिए । उनले धृतराष्टलाई दिएको नीतिपूर्ण उपदेशलाई ‘विदुर नीति’ भनिन्छ। आज हामी सुखी तथा शान्तिले जीवन जिउनको लागि विदुर नीतिका केहि कुराहरु प्रस्तुत गर्दैछौँ। यी कुराहरु आजको समयमा पनि त्यतिकै महत्वपूर्ण रहेका छन्। 


यी ६ सुख हुन्–

 निरोगी हुनु, ऋणी नहुनु, परदेशमा नरहनु, राम्रो साथीको संगत हुनु, आफ्नो बुद्धिविवेकले जीविका चलाउनु र निडर हुनु ।


यी ८ ले ख्याती बढाउँछ–

बुद्धि, कुलीनता, इन्द्रियनिग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।


यी दुई कर्म गर्ने मान्छेलाई सधै सम्मान मिल्छ– 

कहिल्यै कठोर नबोल्ने ।

नराम्रो मान्छेलाई आदर नगर्ने ।


यी दुई कुराले मान्छेलाई दुख दिन्छ–

गरिब भएर पनि महंगो बस्तुको अपेक्षा गर्ने ।

कमजोर भएर पनि क्रोध बोक्ने ।


यी दुई प्रकारका व्यक्तिले स्वर्गभन्दा माथि स्थान पाउँछन्– 

शक्तिशाली भएर पनि क्षमा दिने । 

गरिब भएर पनि दान दिने ।


बुद्धिमान मानिसहरु– 

दुर्लभ बस्तुको अपेक्षा गर्दैनन् । 

हराएको बस्तुमा शोक गर्दैनन् । 

विपत्तिमा हडबडाउँदैनन् ।


उनीहरु बुद्धिमान हुन्-

जो निर्भिक भएर कुरा गर्छ, 

जो राम्रो विषयमा कुरा गर्न सक्छ, 

जो तर्क वितर्कमा कुशल छ, 

जो प्रतिभाशाली र शास्त्रमा लेखिएको कुरा चाडै सम्झने क्षमता राख्छ ।


ती व्यक्ति मूर्ख हुन्, जो-

बिना ज्ञान घमन्डले चुर हुने, 

दरिद्र भएर पनि ठूला–ठूला सुख चाहने, 

परिश्रम विना धनवान बन्न इ्रच्छा राख्ने ।


यी कुराहरु सुखी जीवनको सूत्र हुन्-

साथीसँगको मेलमिलाप, धन आर्जन, पुत्रको आलिंगन, सहि समयमा प्रिय बचन बोल्नु, आफ्नो वर्गमा उन्नती गर्नु, समाजबाट सम्मान। 

यी व्यक्ति धर्म जान्दैनन्- 

नसामा लट्ठीएका, असावधान, पागल, थाकेका, भोको, धपेडीमा रहेका, लोभी, त्रसित व्यक्ति ।


यी व्यक्ति सधै दुखी हुन्छन्-

इर्ष्यालु , अरुलाई घृणा गर्ने, असन्तुष्ट, क्रोधी, शंकालु र अरुप्रति आश्रित। 


यी छ दोष त्याग्न सक्नेले मात्र आफ्नो र जगतको कल्याण वा उन्नती गर्न सक्छ-

तन्द्रा, निन्द्रा, भय, क्रोध, आलस्य र प्रमाद ।


यी तीन कुराले आत्मालाई नष्ट गर्छ-

काम (यौनवासना), क्रोध र लोभ यी तीन दोष नर्कको मार्ग हो । त्यसैले यसबाट टाढा रहनुपर्छ ।


कसैले क्षमा गर्छ भने त्यसलाई कमजोरी ठान्नु हुँदैन । निश्चय नै क्षमामा बल हुन्छ । क्षमा निर्बल मानिसको गुण हो र बलवानको आभूषण हो। 

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender