चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार
प्रा. डा. इन्द्रमान ताम्राकार इलेक्ट्रिकल इन्जिनिरिङ्गका प्राज्ञ एवं शिक्षाविद हुन् । इ. अ. सं. पुल्चोक क्याम्पसमा ४० वर्ष भन्दा वढी प्राध्यापन गराइसकेका डा. ताम्राकार अन्तरराष्ट्रिय शोधव्यक्ति पनि हुन् ।अहिले उनी काठमाडौं इन्जिनियरिङ कलेज, इलेक्ट्रिकल इन्जिनियरिङ्ग विभागका सल्लाहकार हुन् ।नेपालको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीवारे उनीसँग हाम्रा प्रतिनिधिले लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ।
इलेक्ट्रिकल इन्जिनियरिङ विधा र अहिले यसको शिक्षाको अवस्था कस्तो छ ?
इलेक्ट्रिकल इन्जिनियरिङ भनेको उर्जा उत्पादन, विद्युत प्रशारण र विद्युत वितरण क्षेत्र सँग संवधित इन्जिनियरिङ विधा हो । इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विशुद्ध इन्जिनियरिङ विषयहरु हुन । यी तीन इन्जिनियरिङ विषयहरु शुरुवाट कालमा एक आपसमा आधारित नभई विकसित भएका इन्जिनियरिङ विषयहरु हुन । विकसित देशका विश्वविद्यालयमा अझै पनि इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाई इलेक्ट्रिकल विभाग अन्तर्गत छन् । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका विद्यार्थीले इलेक्ट्रोनिक्स विषयमा स्नातकोत्तर गर्न पाउँछन् ।
अहिले इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षाको कुरा गर्दा नेपालमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयप्रति विद्यार्थीहरुको रुची अलि कम भएको देखिन्छ । तर विकसित देशहरुमा अझै पनि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा विद्यार्थीहरुको आकर्षण बढी छ किनभने इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अझै पनि धेरै अनुसन्धान गर्नुपर्ने चुनौतीहरु छन् । विशेष्गरी नवीकरणीय उर्जासँग सम्बन्धित विषयमा धेरै अनुसन्धान गर्नु बाँकी छ ।
इलेक्ट्रिकल इन्जिनियरिङ अहिले कहाँ कहाँ उपयोग भइरहेको छ ?
कुनै देशको विकास इलेक्ट्रिकल उर्जाको विकास विना परिकल्पना नै गर्न सकिंदैन । कुन देश कति विकसित छ भन्ने कुरा त्यो देशमा प्रतिव्यक्ति कति इलेक्ट्रिकल उर्जाको खपट हुन्छ भन्ने अंकले संकेत गर्दछ । एक जना इलेक्ट्रिकल इन्जिनियरले देशको उर्जा उत्पादक क्षेत्र, विद्युत प्रशारण क्षेत्र तथा विद्युत वितरण क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छ । त्यसै गरी देशमा विभिन्न उद्योगहरु इलेक्ट्रिकल इन्जिनियरहरुको आवश्यक्ता पर्दछ । त्यसै गरी टेलिकम्युनिकेसन क्षेत्रमा पनि इलेक्ट्रिकल इन्जिनियरहरुको आवश्यक्ता पर्दछ । कुनै पनि एयरपोर्टको बिद्युतीय प्रणाली भरपर्दो तरिकाले संचालन गर्न इलेक्ट्रिकल इन्जिनियरको आवश्यक्ता पर्दछ । ठूला ठूला व्यवसायीक भवनहरुको इलेक्ट्रिकल सिस्टम डिजाइन गर्न इलेक्ट्रिकल इन्जिनियरको आवश्यक्तामा पर्दछ । यसरी इलेक्ट्रिकल इन्जिनियरहरु विभिन्न विकासका कामहरुमा संलग्न भइरहेका छन् ।
इलेक्ट्रिकल इन्जिनियरिङको यति धेरै उपयोग छ भन्नुहुन्छ, तर इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यार्थी भर्ना त कम छ, आकर्षण छैन किन होला ?
विभिन्न कारणले अहिले नेपालमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा विद्यार्थी कम भर्ना भैरहेको छ । कुनै पनि नयाँ विषयमा बढी आकर्षित हुनु मान्छेको स्वभाव नै हो । त्यसैले अहिले नयाँ विषय कम्प्युटर इन्जिनियरिङ विषयमा विद्यार्थीहरु बढी आकर्षित छन् । यो कारणले पनि इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यार्थी कम भर्ना भएका छन् । भर्खर दश जोड दुई (+2) पास भएका युवाहरुलाई कुन विषय कति उपयोगी छ भन्ने कुरामा त्यति परिपक्व ज्ञान हुँदैन । सवै विद्यार्थीहरुको अभिभावकहरु टेक्नीकल व्यक्ति हुँदैनन् । तसर्थ अभिभावकहरुले पनि परिपक्व सुझाव आफ्ना छोराछोरीलाई दिन सक्दैनन् । तसर्थ बजारमा जुन अहिलेको नयाँ चलन छ त्यसैका प्रायः सवै जस्तो युवायुवतीहरु लाग्छन् तर नेपाल जस्ता जलस्रोतका धनी देशको लागि इलेक्ट्रिकल इन्जिनियरिङको अझै धेरै आवश्यक्ता पर्दछ । नेपालको जलस्रोत क्षमता ८३,००० मेघावाट (technically feasible) छ, जुन संसारमा नै दोश्रो हो । त्यसमध्ये ४२,००० मेघावाट (economically feasible) क्षमता हो । यसको ६.४% मात्र अहिले नेपालले विद्युत उत्पादन क्षमता विकास गरेको छ । तसर्थ अझै यस क्षेत्रमा नेपाल विकास गर्न बाँकी छ र भविष्यमा धेरै इलेक्ट्रिकल इन्जिनियरहरु आवश्यक्ता देशलाई पर्दछ । यसरी नै थोरै विद्यार्थीहरुले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने हो भने ४/५ वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव हुनेछ ।
विदेशको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा नेपालको भन्दा गुणस्तरीय हो ?
नेपालको सवै विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षाको बारेमा त म कित्तान गरी भन्न सक्दिन । त्रिविविको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा विदेशका इलेक्ट्रिकल इन्जिनियरिङ सरह नै गुणस्तरीय छ । त्रिविविमा इलेक्ट्रिकल इन्जिनियरिङको स्नातक तहको पठन–पाठन इ.सं. १९९४ मा शुरु भएको हो । त्यसबेला इलेक्ट्रिकल इन्जिनियरिङको पाठ्यक्रम क्यानेडियन विशेषज्ञहरु र नेपाली विशेषज्ञहरुको संयुक्त प्रयासबाट अन्तरराष्ट्रिय तथा राष्ट्रिय दुवै आवश्यक्ताहरुलाई समावेश गरी तयार पारिएको एक उत्कृष्ट पाठ्यक्रम हो । त्यसपछि समय–समयमा यो पाठ्यक्रम समयको आवश्यक्ता अनुसार परिमार्जन हुँदै आएको छ । इ.अ.सं. तथा यस अन्तर्गत विभिन्न कलेजहरुका अनुभव दक्ष शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको लगनाशइलताका कारण नेपालका इलेक्ट्रिकल इन्जिनियरहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा निकै राम्रो दक्षता देखाइरहेका छन् । नेपालबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरी विदेशका विश्वविद्यालयमा स्नातकोत्तर तथा विद्यावारिधी अध्ययन गर्नेहरुले पनि निकै राम्रो गरेका छन् ।
काठमाडौं इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ र नतिजा कस्तो छ ?
काठमाडौं इन्जिनियरिङ कलेजमा प्रारम्भिक समय देखि नै इलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा एकदमै राम्रो छ भन्ने कुरा इ.अ.सं.को परीक्षा शाखाको अभिलेखबाट स्पष्ट हुन्छ । त्यसको अर्थ यस कलेजको पढाइको गुणस्तर राम्रो छ । विभिन्न वर्षमा इ.अ.सं.को परीक्षाको चार वर्षको औसतमा इ.अ.सं.का कलेजहरुका विद्यार्थीहरुको भन्दा बढी अकं प्राप्त गरी IOE Topper को उपाधी प्राप्त गर्न सफल भएका छन् । काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययनपछि कलेजकै पहलमा धेरै विद्यार्थीहरुलाई अमेरिकाको विश्वविद्यालयहरुमा पूर्ण छात्रवृत्ति सहित स्नातकोत्तर तथा विद्यावारिधी कार्यक्रममा अध्ययन गर्ने मौका मिलाई दिएको छ । ती विद्यार्थीहरु सवैले अमेरिकाको विश्वविद्यालयमा राम्रो performance तथा नतिजा ल्याएका छन् । यसबाट पनि प्रमाणित हुन्छ कि काठमाडौं इन्जिनियरिङ कलेजमा पाठन हुने इलेक्ट्रिकल इन्जिनियरिङको स्तर एक उत्कृष्ट छ ।
काठमाडौं इन्जिनियरिङ कलेजबाट अहिलेसम्म ३६३ जना विद्यार्थीहरु इलेक्ट्रिकल इन्जिनियर भइसके । जम्मा ४८१ जना विद्यार्थीमा ३६३ पास भनेको ७५. ४७% पास हो । अझ एक - दुइटा विषय मात्र लाग्ने र मौका परीक्षाको नतिजा आउन बाँकीहरु पनि धेरै छन् ।
२०६४ भर्ना समूह (batch) मा केईसीका उज्ज्वल ताम्राकार ८७. ०२% ल्याएर इलेक्ट्रिकलमा इ.अ. सं. सर्वप्रथम हुनु भएको थियो । त्यस्तै २०७५ भर्ना समूह (batch) मा केईसीकै पल्लभी खनाल ८३. ४९% ल्याएर इलेक्ट्रिकलमा इ.अ. सं. सर्वप्रथम हुनु भएको थियो ।
यति राम्रो नतिजा ल्याउन सफल हुनुको मुख्य कारण के होला ?
काठमाडौं इन्जिनियरिङ कलेजको इलेक्ट्रिकल इन्जिनियरिङमा राम्रो नतिजा आउनुका कारणहरु मुख्यतया fulltime अनुभवी शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको मेहनत, विद्यार्थीहरुको विभागबाट राम्रो र नजिकको निगरानी, कमजोर विद्यार्थीहरुलाई विशेष प्रशिक्षण इत्यादी छन् ।
हरेक दिन विराएर हुने जाँच (ADT) ले विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने वानी वसाल्न सहयोग गरेको छ । परीक्षा शाखा, गाइडेन्स एन्ड काउन्सिलिङ शाखा, इअर कोअर्डिनेटर (YC), ल्याव कोअर्डिनेटर, प्रोजेक्ट कोअर्डिनेटर, विभागीय उपप्रमुख, प्रमुख आदीको व्यवस्था गरी कार्य विभाजन गर्नाले कार्य सम्पादन प्रभावकारी भई राम्रो नतिजा ल्याउन मद्दत पुगेको छ ।
पुरुष छात्रावास (Boys Hostel) र महिला छात्रावास (Girls Hostel) को व्यवस्थाले विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धानमा संकेन्द्रित गर्न भूमिका खेलेको छ ।
काठमाडौं इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङमा छात्रवृत्ति या विशेष व्यवस्था के छ ?
त्रिविविको नियमानुसार भर्ना भएका विद्यार्थी संख्याको १०% विद्यार्थीहरुले इअसंको नियमित विद्यार्थी सरह पूर्ण छात्रवृत्तिमा पढ्ने पाउँछन् । त्यसबाहेक इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न विद्यार्थीहरु आकर्षित होस् भन्ने उद्देश्यले पहिलो भर्ना हुने १० जना विद्यार्थीलाई कम शुल्कमा चार वर्षको रु ४,९०,०० मा पढाउने व्यवस्था मिलाइएको छ ।
काठमाडौं इन्जिनियरिङ कलेजबाट पास भएका इलेक्ट्रिकल इन्जिनियरहरुको रोजगारीको व्यवस्था र अवस्था के छ ?
यस कलेजबाट इलेक्ट्रिकल इन्जिनियरहरुले ढिलो या चाँडो सवैले रोजगारी पाएका छन् । धेरै जसो नेपाल विद्युत प्राधिकरण, उर्जा मन्त्रालय, नेपाल टेलिकम, नेपाल नागरिक उड्डयन प्राधिकरण, प्राइभेट पावर स्टेशनहरु, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र इत्यादीमा कार्यरत छन् । केइसीका कति इलेक्ट्रिकल इन्जिनियरहरु आफ्नै इलेक्ट्रिकल डिजाइन तथा सर्भिस सम्बन्धी अफिसहरु स्थापना गरी थुप्रै नयाँ इलेक्ट्रिकल इन्जिनियरहरुलाई रोजगारी दिन सफल भएका छन् । अहिलेसम्म केइसीबाट इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ सकिएपछि करीव २० जना जति अमेरिकाको विश्वविद्यालयहरुमा स्नातकोत्तर तथा विद्यावारिधी अध्ययन गरिरहेका र अध्ययनपछि काम गरिरहेका छन् ।
विदेशी विश्वविद्यालयको सम्बन्धनका कलेज बढ्नु र विद्यार्थीहरु विदेश पलायन हुनुलाई कसरी लिनु हुन्छ ?
यो देशको पनि कमजोरी हो । युवाहरुले आफ्नो देशमा अवसर राम्रो नदेखेकोले विदेशमा पलायन हुने संख्या बढेको छ । यसलाई त देशले नै राम्रो नीतिहरु बनाएर सुधार गर्नुपर्छ । अर्को पक्ष भनेको सस्तोमा शिक्षा पाउँछ भनेर कम गुणस्तरको भारतको इन्जिनियरिङ कलेजमा पढ्न जाने संख्या पनि बढ्दो छ तर त्यस्ता विद्यार्थीहरुको कार्यक्षमता कमसल हुन्छन् र नेपाल इन्जिनियरिङ काउन्सिलको परीक्षामा अनुतिर्ण हुने भएका छन् ।
अन्तमा केही भन्नु हुन्छ कि ?
लहै लहैमा लाग्नु भन्दा पनि वुझेर मात्र पढ्नु राम्रो हुन्छ । परनिर्भरता हटाउन र देशको समग्र विकासको लागि पनि इलेक्ट्रिकल इन्जिनियरिङको विकास आवश्यक छ । त्यसैले इलेक्ट्रिकल इन्जिनियरको आवश्यकता र भूमिका झन् अहम् हुने देखिन्छ ।
साभार : रातोपाटी
No comments:
Post a Comment