My Slides

Thursday, December 16, 2021

मोबाइलले बालबालिकामा समस्या

 


    यादव देवकोटा

आजभोलि अधिकांश अभिभावकलाई एउटा समस्याले सताइरहेको छ । आफ्ना छोराछोरी वा नातिनातिना ३–४ वर्ष भइसक्दा पनि राम्रोसँग हिँड्न नसक्ने र नबोल्ने गर्दा उनीहरूमा यस्तो चिन्ता थपिएको हो । चिकित्सक यसलाई ‘प्राकृतिक नियमविपरीतको हेरचाह’ भन्ने गर्दछन् । जब बालबालिका बामे सर्न सुरु गर्छन्, उनीहरूलाई त्यसो गर्न दिइँदैन, हिँड्ने बेला हुन्छ, हिँड्न दिइँदैन र तोतेबोलीमा दोहोरो कुरा गर्ने मान्छे पाउँदैनन् । बामे सर्न खोज्यो हिँड्न दिँदैनन् । यसै कारण उनीहरू न बोल्न सक्छन्, न समयमै हिँड्न सक्छन् ।

कारण के हो त यसको ? स्पष्ट छ– अत्याधुनिक बन्ने र यथार्थमा नभएर कृत्रिमतामा रमाउन चाहनेहरूले आफ्ना दूधे बालबालिकालाई प्राकृतिक रूपमा गर्नुपर्ने व्यवहारको साटो मोबाइल, ट्याब र टेलिभिजनमा व्यस्त राखिदिएपछि उनीहरूले न सिक्न सक्छन्, न हिँडडुल गर्न नै । सिक्ने समयमा उनीहरू आफ्ना बाबुआमासँग कुरा गर्नुको साटो मोबाइलका अनेक रमाइला कुरामा व्यस्त रहँदा त्यहीको भाषा मात्रै बोल्छन् । “हुँ .... हँ..... आ” जस्ता गेमका शब्द मात्र जान्ने बालबालिकाले बाबा, आमा, मामा, माम, पापाजस्ता शब्द बोल्नै जान्दैनन् । यसले गर्दा उनीहरूको भाषा ज्ञान कमजोर भइरहेको मात्र हैन बोल्ने क्षमतामा समेत ह्रास आइरहेको छ ।

बालककालमा जस्तो सिक्यो त्यस्तै जान्ने हो । अहिले बालबालिकाका लागि घरेलु वातावरण नै छैन । आमाबाबुलाई पनि आफ्ना छोराछोरी हुर्काउन वा उनीहरूको हेरचाहका लागि आफूले समय दिनुभन्दा मोबाइलको सहारा लिने गरेका छन् । यो नै अहिलेको सबभन्दा ठूलो समस्या हो । अधिकांशका शिशु १ वर्षको हुँदा नहुँदै उनीहरूको खेल्ने साथी भनेको बाबु–आमा, बाबे–बज्यै वा दिदी–दाजु नभएर मोबाइल हुने गरेको छ । यसबाट उनीहरूको शारीरिक र मानसिक विकासमा ठूलो अवरोध सिर्जना भइरहेको छ । उनीहरूका खानेकुरा, खेल्ने कुरा र बोल्ने साथी नै मोबाइल भएपछि सिक्नैपर्ने, गर्नैपर्ने काम भने गर्न नसक्ने भइरहेका छन् ।

आजभोलि अधिकांश बाबुआमा आफ्ना सन्तान ३ वर्ष कटिसक्दा पनि बोलेन भनेर चिन्तित छन् । यसको कारण त्यो बालकको कुनै शारीरिक समस्या नभएर उसलाई दिइएको गलत वातावरण हो । बूढापाकाले भन्ने गरेको र व्यवहारमा पनि उतारेको कुरा के हो भने “च्यापुले माटो नखाएसम्म बालबालिका हिँड्न सक्दैनन्, बोल्न सक्दैनन्” यसको अर्थ बालबालिका हुर्काउन, उनीहरूको शारीरिक र मानसिक विकासका लागि प्राकृतिक रूपमै त्यस्तो वातावरण तयार गरिदिनुपर्छ । आजकल यसको विपरीत माटोमा टेके फोहर हुन्छ, बूढापाकासँग बोले पाखे हुन्छन्, हिँड्न खोजे लडिन्छ भनेर हिँड्नै नदिने अनि एउटा कोठामा लगेर हातमा मोबाइल र टिभी घन्काएर छाडेपछि बच्चा रुने पनि भएन, हिँड्ने पनि भएन । बाबुआमालाई आनन्द । यही आनन्दको फल हो बोल्न नसक्नु ।

चिकित्सकले बालबालिकालाई मोबाइल दिन बन्द नगरे उनीहरूको बोली फुट्न नसक्ने चेतावनी कतिपयलाई दिइसकेका छन् । आफ्ना छोराछोरी रुन थाले भने हातमा मोबाइल थमाएर खुसी पार्दाको परिणाम कति गम्भीर र घातक रहेछ भने अब आएर बुझ्न थालेका छन् अधिकांशले ।

छोराछोरीको तोतेबोली सुनेर रमाउने वा खुसी हुने समय आधुनिक बाबुआमालाई छैन । उनीहरू फुर्सद भयो कि मोबाइलमै झुम्मिन्छन् र दुधे बालकलाई पनि मोबाइलमै रमाइन दिन्छन् । यसले बालकको शारीरिक, मानसिक र बौद्धिक विकासमा कति असर गरिरहेको छ भन्ने हामी सबैले बुझ्नु जरुरी छ । कलिलो र विकसित हुँदै गरेको मस्तिष्कमा जे कुरा घुस्यो त्यही सिक्ने र बोल्ने हो । गाईको हुलमा मिसिएको बाघको डमरुले पनि गाईका बाच्छाले घाँस खाएको देखेर त्यसैको सिको गर्छ । भन्नुको तात्पर्य के हो भने आफ्ना अभिभावकसँग बसेर तोतेबोलीमा जिज्ञासा राख्ने उमेरमा उनीहरूलाई मोबाइलमा व्यस्त राखिदिएपछि कहाँबाट सिक्छन् ? दोहोरो कुरा गर्न नपाएपछि स्वाभाविक रूपमा बोल्ने क्षमता कमजोर हुँदै जान्छ । यसैको परिणाम हो लामो समयसम्म नबोल्नु । उनीहरू मोबाइलकै भाषा मात्रै बोल्छन्, किनभने सिकेको त्यही छ ।

बालबालिकालाई प्राकृतिक वातावरण दिन सकिएन भने उनीहरूको भविष्य अन्धकार हुन्छ । हरेक बाबुआमाले बुझ्नुपर्ने कुरा के हो भने प्रकृतिमा जन्मिएको शिशुको हेरचाह प्रकृतिले गर्छ र प्राकृतिक रूपमै गर्नुपर्छ, प्रविधि एउटा सहायक पक्ष मात्र हो । पूर्ण रूपमा प्रविधिको जिम्मा छोड्ने हो भने विस्तारै मानिस सजीव ‘रोबोट’ मा परिणत हुन बेर लाग्दैन ।

आफूलाई समाजमा अरूभन्दा अलग देखाउन, अरूका अगाडि समृद्धि प्रदर्शन गर्न बामे सर्ने उमेरमै महँगो मोबाइल छोराछोरीलाई दिएर अरूका अगाडि ‘धक्कु’ देखाउने लोभमा बाबुआमाले आफ्ना छोराछोरीको भविष्य नै अन्धकारमा पारिरहेकोतर्फ ध्यान दिइरहेका छैनन् । तोते बोल्न र बामे सर्ने उमेरमा उनीहरूलाई बोल्न प्रेरित गर्ने, हिँड्न प्रेरित गर्नुको साटो झमेला पन्छाउन मोबाइलमा कार्टुन र गेम खेल्न लगाइदिएपछि आफैँ सोच्न सकिन्छ ती बालबालिकाले के सिक्छन्, के जान्दछन् ?

सिक्ने उमेरमा बालबालिकालाई जे सिक्नुपर्ने हो र सिकाउनुपर्ने हो त्यही कुराबाट वञ्चित गरिदिएपछि उनीहरूको शारीरिक विकासबाहेक अरू विकास हुनुपर्ने जति हुँदैन, जसले उसको भविष्य नै अन्धकारमय हुनसक्छ । मोबाइलमा भुलाएर केही समयको आनन्द त होला तर यसबाट उनीहरूको बोल्ने, हिँड्ने समय कटिसक्दा पनि यी दुवैमा कमजोर हुन्छन् । यसका अतिरिक्त उनीहरूमा आँखा र गर्धनको रोग लाग्नुका साथै मानसिक विकार पनि उत्पन्न हुनसक्छ । यसर्थ, हामी सबैले बालबालिकाको हेरचाह प्राकृतिक वातावरणमै गरौँ ।

https://gorkhapatraonline.com/opinion/2021-12-15-52955

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender