My Slides

Wednesday, May 3, 2023

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

 

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

आर्टिफिसियल इन्टेलिजेन्सका सुरुवातकर्ता भन्छन्- ‘यी ४ कारण एआई खतरनाक छ’

सन् २०१८ को ट्युरिङ पुरस्कार विजेता तथा गुगलका च्याटबट इन्जिनियर जेफ्री हिन्टनले भविष्यमा एआईबाट निम्तिन सक्ने जोखिमको कारण देखाउँदै कम्पनीबाट राजीनामा दिएका छन् ।

द न्यू योर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै हिन्टनले गुगलको जागिर छोडेको पुष्टि गरेका हुन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का पायाेनियर भनेर चिनिने हिन्टन नै एआईका जोखिम देखाउँदै गुगलबाट बाहिरिएपछि बहस हुन थालेको छ ।

द न्यू योर्क टाइम्ससँगकाे अन्तर्वार्तामा हिन्टनले एआईप्रतिको आफ्नो धारणा राखेका छन् । भन्छन्, "गलत मानिसहरूले गलत कामका लागि एआईको प्रयोग गर्नबाट कसरी रोक्न सकिन्छ भन्ने कुरा हेर्न गाह्रो छ ।"

हिन्टनको दशकौं लामो न्युरल नेटवर्कको कामले गर्दा नै आजका च्याटबट (बार्ड, च्याटजीपीटी, बिङ एआई) अस्तित्वमा आएका हुन् ।

एक दशकअघिको हिन्टनको सफलताले गर्दा उनी गुगलमा आवद्ध भए । गुगलले अर्को पुस्ताको डिप लर्निङ सिस्टम विकास गर्न उनलाई बोर्डमा ल्याएको थियो । उनले त्यस्तो प्रणाली निर्माण गर्नु थियो, जहाँ कम्प्युटरले मानिसकै शैलीमा फोटो, टेक्स्ट र स्पिचलाई प्रस्तुत गर्न सकोस् ।

सन् २०१४ वा विर्ड (weird) लाई अन्तर्वार्ता दिँदै उनले भनेका थिए, "न्युरल नेटवर्कलाई अझ परिष्कृत बनाउने तरिका फेला पार्न सकेकोमा म निकै उत्साहित छु । जसरी हाम्रो मस्तिष्कले काम गर्छ, त्यसै विषयमा यो सम्बन्धित थियो । तर अहिलेसम्म यो प्रविधिमा नयाँ खोज र सुधार भने केही हुन सकेको छैन ।"

तर, अहिले भने उनी उत्साहितभन्दा पनि चिन्तित बढी देखिन्छन् । उनले द न्यू योर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै यी पाँच कारणले एआई खतरनाक हुने विश्लेषण गरेका छन् ।

प्रतिस्पर्धा गर्न हतार

माइक्रोसफ्ट, गुगल र ओपनएआई जस्ता कम्पनीले एआई तथा च्याटबट विकासमा सतर्कता अपनाइरहेको दाबी गर्दै आइरहेका छन् । यता हिन्टन भने यी तीन प्रमुख कम्पनीहरूबीच भइरहेको प्रतिस्पर्धाबारे आफू चिन्तित भएको धारणा राख्छन् ।

यसरी प्रतिस्पर्धा बढी हुँदा कम्पनीहरू सम्भावित जोखिमबारे कम सतर्क हुने उनको राय छ ।

उनी भन्छन्, "यस वर्षको सुरुमा हामीले माइक्रोसफ्टको बिङ एआईको अचम्मको उपस्थितिलाई भेट्टाउन समय नहुँदै गुगलले तयार नै नभएको बार्ड सार्वजनिक गर्न हतार गरेको देख्यौं ।"

"के यी कम्पनीहरूले प्रतिस्पर्धामा अगाडि रहनका लागि बजार अनिवार्यतालाई सन्तुलनमा राख्न सक्छन् ?" हिन्टन सोध्छन् । त्यसैले यी ठूला कम्पनीबीचको प्रतिस्पर्धाले एआई विकास गलत ढङ्गले भइरहेको हिन्टनको राय छ ।

सत्यताको कमी

एआईले नक्कली अनलाइन कन्टेन्टको बाढी नै ल्याउने भएकाले उनी यसबारे चिन्तित देखिन्छन् । पछिल्लो समय मानिसहरू एआईले तयार पारेका नक्कली आवाजका गीत सङ्गीतमा रमाइरहेका छन्, जसले गर्दा वास्तविक समयमा हुने कुराको आनन्द बिर्सिँदै गइरहेको अवस्था छ ।

सङ्गीत मात्र नभई फोटो तथा भिडिओ पनि एआईले नै तयार पार्न सक्षम छ । एआईले बनाएका तस्वीररहरू वास्तविक तस्वीरभन्दा पनि उत्कृष्ट र आकर्षक देखिरहेका छन् । र, एआईले बनाउने फोटोलाई लिएर विभिन्न प्रतिस्पर्धा पनि भइरहेका छन् ।

डिप फेकले तयार पारेका भिडिओले गर्दा हामीले अहिले हेरिरहेका विभिन्न भिडिओ ओझेलमा पर्दै गइरहेका छन् । त्यसैले पनि हिन्टनले एआईको बढ्दो प्रयोगले वास्तविक कुराको महत्व घट्दै जाने र अवास्तविक तथा असत्य कुरालाई प्रशय मिल्ने विश्लेषण गरेका छन् ।

रोजगारी घटाउँदै एआई

हामी जे गर्छौं, त्योभन्दा एक गुणा बढी काम गर्न एआई सक्षम भइसकेको भन्दै हिन्टनले सचेत हुन भनेका छन् । ​हामीमध्ये अधिकांशले बार्ड, च्याटजीपीटी जस्ता च्याटबटको सहायताले प्रिजेन्टेसन बनाउने, प्राेपोजल लेख्ने, तथा प्रोग्रामिङ लेख्ने काम गरिरहेका छौं ।

यस्ता एआई टुलबाट निस्किएका परिणाम केही समयका लागि उचित हुने भएपनि दिगो रूपमा भरपर्दो वा समय सापेक्ष नहुने हिन्टनको तर्क छ ।

अहिले अमेजनजस्ता प्लेटफर्ममा एआईले लेखेका दर्जनौं उपन्यास बिक्रीमा छन् । अमेरिकाको स्क्रिनराइटर युनियनले यदि उनीहरू सम्झौतामा सहमति भएनन् भने स्टुडियोले एआईको प्रयोग गरी उनीहरूको काम आउटसोर्स गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै पछिल्लो समय एआईको प्रयोग हुने अधिकांश कम्पनीबाट कर्मचारी कटौती गरेका घटनाहरू बाहिरिएका छन् । त्यसैले पनि एआईले निकट भविष्यमा तीन करोड बढीको रोजगारी खोस्ने विश्लेषकले औँल्याएका छन् ।

यिनै पक्षलाई आधार मान्दै हिन्टनले पनि रोजगारीको अवसर घट्दै गइरहेको बताएका छन् ।

अनपेक्षित र अनावश्यक व्यवहार

अनपेक्षित र अनावश्यक व्यवहार देखाउँदा पनि हिन्टनले एआईलाई खतराको दृश्यबाट हेरेका छन् ।

न्युरल नेटवर्क र डिप लर्निङ एआईमा एउटा त्यस्तो विशेषता हुन्छ जहाँ आफैले आफैलाई सिकाउनका लागि ठूलो मात्रामा डेटा प्रयोग गर्छ । जसरी मानव मस्तिष्कले अनपेक्षित जवाफ वा परिणाम दिन्छ, एआई पनि त्यस्तै काम गर्न सक्षम हुँदै गएको छ ।

भन्नुको अर्थ हामीलाई एआईले दिएका जवाफ वा उसले गरेका काम चित्त बुझ्ने हुन्छन् ।

हिन्टन भन्छन्, "एउटा एआई जसले प्रोग्राम मात्र गर्न मात्र नभई आफ्नै प्रोग्रामिङ पनि चलाउन सक्छ । विशेषगरी यो अनपेक्षित परिणामहरूसँग सम्बन्धित छ ।"

हामीले दिएका निर्देशन वा हामीले एआईसँग गरेका अन्तर्क्रियाले पनि एआईलाई पाठ सिकाएका हुन्छन् । यसरी विभिन्न पक्षबाट आफै सिक्न सक्ने हुँदा एआईको अनपेक्षित व्यवहार हाम्रा लागि खतरनाक बन्ने हिन्टनले सङ्केत गरेका छन् ।

एआई हामीभन्दा स्मार्ट हुन सक्छन्

अहिले प्रयोगमा आएका केही एआई हामी मानिसहरूभन्दा पनि स्मार्ट भएको देख्दै आएका छौं । भ्रम र निर्मित तथ्यको सन्दर्भमा एआईले अधिकांश सोचाइ हाम्रो मस्तिष्कसँग मेल खाँदैनन् । तर, एआईले हामीले अनुमान नै नगरेका परिणाम नदेलान् भन्न पनि सकिँदैन ।

हामीले अपेक्षा गरेभन्दा स्मार्ट उत्तर एआईले दिन सक्छ । त्यस्तै मानिसभन्दा एआई परिष्कृत र स्मार्ट हुँदै गएको परिप्रेक्ष्यमा एआई हाम्रा लागि खतरनाक हुनसक्ने हिन्टनको भनाइ छ ।

हिन्टन आफैँले एआईमाथि नैतिक प्रश्नहरू गर्ने गरेका छन् । सेनाले युद्धका लागि एआई प्रयोग गर्नसक्नेमा उनकाे मुख्य चिन्ता छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८०

साभार : टेकपाना

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender