रमेशप्रसाद गौतम
नेपालको संविधान (२०७२) को अनुसूची खण्डमा विभिन्न तहको शिक्षा सञ्चालन सम्बन्धमा अधिकार केन्द्रदेखि स्थानीय तहसम्मको अधिकार किटान गरिएको छ । अनुसूची ५ मा सङ्घको अधिकारमा केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरको प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय आदिको अधिकार व्यवस्था गरेको छ । अनुसूची ६ मा प्रदेश विश्वविद्यालय, उच्च शिक्षा पुस्तकालय, सङ्ग्रहालय आदिको सञ्चालन गर्ने अधिकार तोकेको छ ।
संविधानको अनुसूची ८ मा स्थानीय सरकारलाई आधारभूत र माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने अधिकार उल्लेख गरेको छ । यद्यपि, संविधानले व्यवस्था गरेअनुसार स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नपाएको गुनासो व्याप्त छ । सङ्घले अधिकार आफैँमा निहित गर्न खोजेको लञ्छना स्थानीय सरकारले लगाउँदै आएका छन् । संविधानतः निर्दिष्ट अधिकारमा सङ्घले छेकवार गर्न खोज्नु र स्थानीय तहलाई अधिकारबाट विमुख गराउनु लोकतान्त्रिक पद्धतिअनुरूप ठहर्दैन ।स्थानीय तहलाई के कति अधिकार दिने हो, दिएको अधिकार ठीक थियो कि थिएन, उनीहरूले पाएको अधिकार वहन गर्न सक्छन् या सक्दैन भन्ने कुरा आफ्नो ठाउँमा छ तर संविधानले प्रदान गरेको अधिकार कसैले हडप्न मिल्दैन । प्रान्तीय र स्थानीय सरकारका लागि के कस्तो सङ्गठन र जनशक्तिको आवश्यकता पर्छ, मुलुकको बजेटले के कति थेग्न सक्छ भन्नेबारे संविधान मस्यौदा कालमै गहन छलफल, गृहकार्य हुनुपर्नेमा सो हुन सकेन ।
समयमा सोच विचार नपु¥याउँदा कार्यान्वयन प्रक्रियामा जटिलता थपिने हुन्छ । थालनीपछिका थुप्रै असजिला बाटा हुन्छन् भने थालनीपूर्व नै अव्यावहारिक ढङ्गले ल्याइएका कार्यक्रम र योजना लागू गर्दा झन् जटिल र पेचिलो हुने नै भयो । यसर्थ शिक्षाका सम्बन्धमा संविधानको मर्मअनुरूप सबै तहलाई तोकेबमोजिमको अधिकार प्रयोग गर्न पाउने प्रावधान मिलाउनै पर्छ । शिक्षाका हरेक पक्षलाई त्यति सजिलै आकलन गर्न सकिने विषय भने होइन । यसभित्र शैक्षिक सामग्री, पाठ्यक्रम, अध्यापन, शिक्षक, भौतिक पूर्वाधार, विद्यार्थी मूल्याङ्कन, तथ्याङ्क आदि सबै विषयको कुशल व्यवस्थापनको दायित्वको सवाल आउँछ ।
यहाँनिर सङ्घदेखि स्थानीय तहसम्मको आपसी सहयोग र समझदारीको ठूलो प्रश्न उठ्छ । स्थानीय तहका सरकारलाई आफूले पाएको अधिकार सम्हाल्दा के कस्ता बाधा, अड्चन पर्छन् ? यसमा प्रदेश र सङ्घ सरकारको पनि सहयोगी भूमिका त्यत्तिकै जरुरी हुन्छ । प्रदेश र स्थानीय सरकारलाई संविधानले दिएको अधिकारबमोजिम पूर्णकार्य गर्न पाउने वातावरण सङ्घीय सरकारबाट मिलाइनु पर्छ । कतिपय महìवपूर्ण विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले आपसी समझदारीमा साझा निर्णय लिनुपर्ने स्थितितर्फ पनि ख्याल गरिनु पर्छ ।
शिक्षाका विविध चरणका कार्यलाई सावधानीपूर्वक कार्यान्वयन गरिँदै लगिनु पर्छ । यसका लागि स्थानीय तहका शिक्षक तथा कर्मचारीलाई आवश्यक तालिम, गोष्ठी, प्रशिक्षणको जरुरत पर्छ । शिक्षालाई समयसापेक्ष ढङ्गले अगाडि बढाउन पनि ज्ञान र सीपमूलक छोटो र लामो अवधिको तालिम दिइनु पर्छ । कक्षामा पढ्ने सिक्ने सवालमा सबैभन्दा भरपर्दो व्यक्ति शिक्षक नै हो । शिक्षकले विद्यार्थीलाई राम्रो ज्ञान र सीप प्रदान गर्न सकेनन् भने भविष्यमा दक्ष जनशक्ति उत्पादन हुन सक्दैन । यसैले भन्ने गरिन्छ, एक जना चिकित्सकले एक पटक गल्ती गर्दा एउटा बिरामीलाई असर पर्छ भने एउटा शिक्षकले एक पटक गल्ती गर्दा सयौँ विद्यार्थीमाथि असर पर्छ । हाम्रो बुझाईमा हिजो थुप्रै त्रुटि भएर आज समाजमा धेरै गलत काम भइरहेको अनुमान हुन्छ ।
हाम्रो शिक्षा रोजगारमूलक बन्न सकेन । केटाकेटीहरू स्वावलम्बी र स्वरोजगार बनेनन् । हाम्रो शिक्षा नीतिमा पटक–पटक फेरबदल भयो । कहिल्यै दूरगामी लक्ष्य हासिल गर्न सकेन । अब अपनाउने शिक्षा नीति पनि विगतमाझै हचुवाका भरमा ल्याउन हुँदैन । समग्रमा निष्कर्ष निकाल्दा परिणाम शून्यतर्फ जाने विगतझै गल्ती दोहोरिने काम मात्र हुने प्रवृत्तिले प्रश्रय पाएको परिस्थितिलाई मनन गरिनु पर्छ । सरकारले धेरै पल्ट गठन गरेका उच्चस्तरीय शिक्षा आयोगहरूको प्रतिवेदन आजसम्म प्रभावकारी बन्न सकेन । ती केबल शिक्षा मन्त्रालयमा थुप्रिएर बसेका छन् । अझै सङ्घीय शिक्षा ऐन प्रभावकारी ढङ्गले निर्माण हुन सकेको छैन । संविधान जारी भएको तीन वर्षभित्र ऐन–नियम बनाएर संविधानको धारा ३१ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिसक्ने उल्लेख भएर पनि कार्यान्वयनमा ६ वर्ष बित्दा पनि आउन सकेको छैन । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा नै निहित छ ।
अधिकार बाँडफाँटका कुराभन्दा पनि महìवपूर्ण पक्षचाहिँ गुणस्तरीय शिक्षाको हो । सङ्घीयता वा विकेन्द्रीकरणका सवाल पनि गुणस्तरीय शिक्षाका लागि नै हो । पुराना मान्यता र संरचनामा सुधार ल्याई वस्तुपरक, वैज्ञानिक तथा व्यावहारिक आधारमा शिक्षा नीति लागू गर्नुपर्छ । सिर्जनशीलता र नवीनतालाई आत्मसात् गरेको शिक्षा चाहिन्छ । जीवन व्यवहारमा प्रयोग नहुने कोरा ज्ञानले केही हुँदैन । हाम्रो शिक्षा परीक्षामुखी र प्रशासनमुखी मात्र देखिएकाले व्यवहारमुखी बन्न सकेन । हाम्रा शिक्षालयहरूले उत्पादन गरेका थुप्रै जनशक्ति बेरोजगार बन्दै गएका छन् । ती विद्यार्थीहरू बेरोजगार रहेर भौँतारिरहेका छन् ।
हाम्रा अधिकांश विद्यार्थी परीक्षाका मुखमा आएर सुँगा घोकाइ गरेर परीक्षा हलमा जान्छन् । त्यसैका भरमा परीक्षामा उत्तीर्ण पनि हुन्छन् । घोकेका कुरा परीक्षाका दिनसम्म जेनतेन भुल्दैनन् । परीक्षा सकिएपछि घोकेका कुरा विस्तारै भुल्दै जाने हुन्छ । यसरी हामीले परीक्षाका लागि मरिहत्ते हालेर घोकेका कुरा काम लाग्ने हुँदैनन् । परीक्षा व्यक्ति योग्य भए नभएको मापन गर्ने एउटा संयन्त्र हो । यसर्थ संयन्त्रलाई सामाजिक र वैज्ञानिक बनाइनु जरुरी छ । हाम्रा विद्यालयमा पढ्नुको अर्थ सिक्नु हो तर सिकेका कुरा व्यावहारिक छैनन् । विद्यार्थीहरू किताबका कुरा घोकेर पास हुन्छन् । आफ्नो विषयवस्तुको ज्ञाता र कर्तव्यमा दृढ शिक्षक भएमा विद्यार्थीप्रति जवाफदेही हुने र विद्यार्थीमा निहित प्रतिभालाई उजागर गराउने कार्य हुनसक्छ । यस्ता शिक्षकले घोकाउनमा भन्दा बुझाउन र तिनको प्रतिभालाई सीप र जाँगरमा रूपान्तरण गराउन पहल पर्छ । तर हाम्रा शैक्षिक कार्यक्रम सिकाइमा यस प्रकार अझै सुधारोन्मुख देखिएका छैनन् ।
हाम्रा शिक्षक अहिले पनि कक्षा कोठामा प्रवचन विधिमै अलमलिएका छन् । विद्यार्थी क्रियाशील बन्नुभन्दा शिक्षक नै बढ्ता सक्रिय बन्न खोजेको देखिन्छ । विषयमा विद्यार्थी कमजोर र आफू पोख्त र अब्बल ठान्छन् । अहिले विभिन्न प्रविधि र सूचनाले विद्यार्थी शिक्षकभन्दा पनि ज्ञानको स्रोत बन्दैछन् भन्ने कुरा हाम्रा शिक्षकले कमै आकलन गरेका छन् । शिक्षकले हिजोको अनुभव र ज्ञानले मात्र आजका विद्यार्थीको तिर्खा मेटाउन सक्दैनन् । जिज्ञासा र लगन भएका विद्यार्थीले प्रविधिको माध्यमले धेरै कुरा सिक्छन् । खोज्नेलाई घरदैलोमै, हातमै ज्ञानको भण्डार छ । प्रविधिमा पहुँच भएका विद्यार्थी शिक्षकभन्दा पनि ज्ञाता बन्न सक्छन् । यसर्थ शिक्षक कक्षा कोठामा प्रवेशपूर्व नै आफू पनि विषयवस्तुको पूर्ण जानकारीसहित जानु आवश्यक छ । एउटा असल शिक्षकले विद्यार्थीलाई कमजोर ठानेर कक्षामा जाँदैन ।
आजको प्रविधिले हाम्रा यथास्थितिका मान्यताहरू बदलिएका छन् । कसैलाई निम्ता गर्न घरदैलोमा पुग्नु पर्दैन । अहिले रेडियोमा, इमेलमा, मोबाइलमा निम्ता गरे पुग्छ । यिनै प्रविधिले युवापुस्तालाई दक्ष बनाउँदैछ । विद्यार्थीलाई गुगलले जुनसुकै विषयको ज्ञाता बनाएको छ । यसले गर्दा पहिलेको भन्दा शिक्षकको भूमिका बदलिएको छ । पुरानो शैलीले एउटै पाठ्यपुस्तकमा सीमित रहेर कक्षा कोठामा प्रवेश गर्ने शिक्षकले विद्यार्थीलाई सन्तुष्ट गराउन सक्दैन ।
हुन त विगत दुई वर्षयता कोरोना महामारीको सन्त्रासले हाम्रा बालबालिका र विद्यालय परिसर पीडित बन्दै आएको छ । यो विश्वव्यापी महामारीले हाम्रा बालबालिकाले कक्षा कोठामा उपस्थित भई पठनपाठन गर्न सकिरहेका छैनन् । केही सीमित बालबालिकाले घरमै अनलाइन शिक्षा पढ्न पाएका भए पनि अधिकांश बालबालिका पठनपाठनबाट वञ्चित हुन पुगेका छन् । यसले गर्दा बालबालिकाले आफ्ना साथीभाइसँगै हाँसेर, खेलेर, रमाएर पढ्न पाउने अवसरबाट विमुख हुनुपरेको छ । यस्तो परिस्थिति अझ लम्बिदै गयो भने बालबालिकाको मानसिक र शैक्षिक विकासमै प्रतिकूल असर पर्न सक्दछ । यसर्थ सरकारले समयमै बालबालिकालाई कोभिडविरुद्धको खोप मिलाएर विद्यालयमै उपस्थित गराई स्तरीय पठनपाठनको व्यवस्था मिलाउन कत्ति पनि ढिला गर्नुहुन्न ।
No comments:
Post a Comment