My Slides

Saturday, October 29, 2022

छठ पर्ब कसरी मनाइन्छ ?

 

छठ पूजामा खास गरि सुर्य भगवान र छठी माताको पुजा आरधाना गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको ब्रत प्रारम्भ हुन्छ ।

पहिलो दिन चौथी तिथीका दिन बिहान ब्रतालुहरु घर नजिकको ताल , पोखरी वा नदिमा गइ नहुाइ धुवाइ गरि चोखो भइ पियाज र लहसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन् । यस दिनलाइ भोजपुरी र मैथीली भाषमा नहाए खाएके दिन भनिन्छ ।

दोश्रो दिन भोलि पल्ट पन्चमीका दिनलाइ खरना र रसियाव रोटीको दिन भन्ने गरिन्छ । यस दिन साँझ पख माटोले बनाइएको नयाँ एंव चोखो चुल्होमा ब्रतालुहरुले आँपको रुखको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुको पिठोबाट बनाइएको रोटीको प्रसाद तयार पार्दछन् ।

चौथीका दिन देखि उपवास बसेका ब्रतालुहरुले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आरधान गर्छन् ।त्यसपछि प्रसादको केहि अंश गाइलाइ खुवाएपछि बाँकी प्रसाद आफुले ग्रहण गरि परिवारका सदस्यहरुलाइ खान दिन्छन् ।रसीयाव र रोटीको प्रसाद ग्रहण गरे पछि ब्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास शुरु हुन्छ ।

छठ पर्ब कठोर तपस्याको पर्वको हो , भोजपुरी भाषा साहित्यमा नेपालमा पहिलो विद्यावारिधी गरेका डाक्टर विश्वम्भर शर्मा भन्छन् ,‘ यो पर्ब अवधीमा धार्मिक विधीमा थोरै पनि चुक नहोस् भनेर ब्रतालु मात्र नभइ घरपरिवारका सबै सदस्य अत्यन्त सजग हुन्छन् , खानपान देखि घरको सरसफाइ सम्म हरेक स साना कुरामा पनि निक्कै ध्यान दिने गरिन्छ ।

खरनाको भोलि पल्ट अर्थात षष्ठी तिथीको दिनलाइ छठ पर्बको मुख्य दिन मानिन्छ । यस दिनलाइ सँझिया घाटे भनिन्छ ।
त्यस दिन ब्रतालुहरु दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि , पोखरी , तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीभाटमा पुग्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाँउछन् ।त्यसपछि साँझ पख अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा , कागती , ठेकुवा , बोडी , अदुवाको बोट , स्याउ , जटा भएको नरिवल , भिजाएको केराउ , चामलको अछता , पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन् ।
सुर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ आफनो घर फर्किन्छन् ।

षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्र्तीको पूजा) चलन पनि छ । यो सबै ब्रतालुलले गर्दैनन् । जसले भाकल गरेको हुन्छ , उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन् ।
कोशीका लागि घरको आँगनमा नौ वा १३ वटा हरियो उखु (पात सहितको ) लाइ मुठा बनाएर फेदको पातको तल चोखो बस्त्रले बाधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ ।

उखुको बिचमा माटोले बनाइएको कलश र हात्तिको आकृतिको मुर्ती राखन्छ । हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएको प्रसाद र फलफुलहरु राखिन्छ ।

यस्तै ती प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ । त्यसपछि ब्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाइ तीन वा पाच पटक परिक्रमा गर्दै धुप तथा जल अर्पण गर्दै भूइमा शीर छुवाएर पूजा आरधाना गरिन्छ । त्यसबेला महिलाहरुले छठीमाताको पारम्परिक गीत पनि गाउदै आर्शीवाद माग्छन् ।

षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरुले कोशीमा पूजा गरिएको उखु र पूजन सामाग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन् । त्यहा पनि आँगनमा गरिएको विधी जस्तै उखुलाइ छठयाएर दियो र धुप बाली पूजापाठ गरिन्छ ।
त्यसपछि कोशी (माटोको कलश र हात्ती आकृतिको मूर्र्ती) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिइ उनिहरु घर फर्किएपछि छठको निराहार निर्जल ब्रत लिएका रातिको तेश्रो प्रहरमै ब्रतालुहरु फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोरा छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।

सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् ।
सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् । उदाउदा सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।


Source : Madhes Khabar

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender