बदलिँदो दुनियामा सिमेन्ट हरेक भौतिक संरचना निर्माणमा नभई नहुने वस्तु बनेको छ । सिमेन्टको प्रयोगबिना भौतिक संरचना निर्माण सोच्न पनि सकिँदैन । २०७२ वैशाखको भूकम्पपछि दूरदराजका गाउँ–गाउँमा पनि सिमेन्टको प्रयोग ह्वात्तै बढ्यो ।
सिमेन्ट भनेको ‘केमिकल ब्लाइन्डर’ हो । सिमेन्टले डन्डी, गिट्टी र बालुवालाई बलियोसँग जोड्ने काम गर्छ । सामान्यतया सिमेन्ट खैरो र सेतो गरी दुई प्रकारको हुन्छ । आज हामी खैरो सिमेन्टको प्रयोगबारे कुराकानी गर्दै छौँ ।
विश्वबजारमा बिभिन्न प्रकारको खैरो सिमेन्ट प्रयोगमा आइसकेको छ । तर, नेपालको सन्दर्भमा भन्नुपर्दा ओपीसी, पीपीसी र पीएससी गरी तीन प्रकारको खैरो सिमेन्ट प्रयोग भइरहेको छ । अझ सबैभन्दा बढी प्रयोगमा आउने सिमेन्ट ओपीसी र पीपीसी हो । पिल्लर, बिम र ढलानमा ओपीसी प्रयोग भइरहेको छ भने प्लास्टर र गारो लगाउन पीपीसी प्रयोग गरिन्छ ।
के हो ओपीसी ?
अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) साधारण चुनढुंगाबाट बनेको सिमेन्ट हो । चुन ढुंगालाई १४ सय डिग्री सेन्टिग्रेटमा पकाएर त्यसमा विभिन्न पदार्थ मिसाएर क्लिकंर बनाइन्छ । ओपीसीमा क्लिंकरको मात्रा बढी प्रयोग गरिन्छ । क्लिंकरमा अधिकतम पाँच प्रतिशत जिप्सम पदार्थ मिसाएर ओपीसी बनाइन्छ । ओपीसीमा क्लिंकरको मात्रा बढी हुने भएकोले छिट्टै सेट हुन्छ ।
ओपीसी पनि तीन थरीका हुन्छ, ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेड । यी तीन थरी सिमेन्टका आ–आफ्नै उपयोगिता छन् । ३३ ग्रेडको साधारण ओपीसी हो । स्ट्रक्चर बनाउँदा सबैभन्दा बढी ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको छ । भवन बनाउँदा ४३ ग्रेडकै सिमेन्ट प्रयोग गरिन्छ । अग्ला हाईराइज भवन, टावर, जलविद्युतका ड्याम बनाउँदा ५३ ग्रेड र ४३ ग्रेडको दुबै सिमेन्ट प्रयोग गरिन्छ । नेपालमा ठूला निर्माणमा ४३ ग्रेडको सिमेन्टले काम नगर्ने भन्ने होइन, बढीजसो ५३ ग्रेडको सिमेन्टलाई बढी प्राथमिकता दिन थालिएको छ ।
के हो पीपीसी ?
पुजोलोना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी) कोइलाबाट निस्केको खरानी÷धुलो (पुजोलोना)मा क्लिंकर मिसाएर बनाइन्छ । यो सिमेन्ट बनाउँदा ७० प्रतिशत क्लिंकर, २५ प्रतिशतजति पुजोलोना र पाँच प्रतिशत हाराहारी जिप्सम प्रयोग गरिन्छ । क्लिंकरको मात्रा कम हुने भएकोले पीपीसी सेट हुन अलि समय लाग्छ ।
यो पनि आफैमा नराम्रो सिमेन्ट होइन । तर, नेपालमा प्रायः प्लास्टर र गारो लगाउन पीपीसी प्रयोग भइरहेको छ । पीपीसी सिमेन्टको प्रयोग गरेर स्ट्रक्चरै बनाउन मिल्दैन भन्ने होइन । यदि स्ट्रक्चरको डिजाइन गर्दा पीपीसीले ढलान गर्न मिल्ने खालको बनाएमा प्रयोग गर्न सकिन्छ ।
के हो पीएससी?
पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) भर्खरै मात्र चलनचल्तीमा आएको हो । यो सिमेन्ट नेपालमा ढलान, गाह्रो र प्लास्टर दुबैमा प्रयोग भइरहेको छ ।
कुन संरचनामा कस्तो सिमेन्ट प्रयोग गर्ने ?
सबै सिमेन्टको आ–आफ्नै विशेषता छन् । ओपीसीमा क्लिकंरको मात्रा बढी हुने हुँदा पीपीसीभन्दा छिटो सेट हुन्छ । नेपालमा ओपीसी ढलान र पिल्लर बनाउन बढी प्रयोग हुन्छ । गिट्टी, बालुवा र डन्डी भएको ठाउँमा काम गर्दा ओपीसीको घोल प्रयोग गरिन्छ, बालुवा मात्र मिसाएर काम गर्दा पीपीसी प्रयोग गरिन्छ । प्लास्टर र गारो लगाउन पीपीसी बढी प्रयोग हुन्छ ।
ठूला र चाँडै निर्माण सम्पन्न गर्नुपर्ने भएमा ओपीसी प्रयोग गरिन्छ । ओपीसी चाँडै जम्ने हुनाले ठूला परियोजनामा यसको प्रयोग उपयुक्त मानिन्छ । पीपीसी सिमेन्ट सेट हुनका लागि अलि बढी समय लाग्छ भने ओपीसीको संरचना सेट हुनका लागि तुलनात्मक रुपमा निकै कम समय लाग्छ । ओपीसी सिमेन्टलाई ‘फास्ट सेटिङ’ सिमेन्ट पनि भनिन्छ ।
पीपीसीले ढलान गर्नै नहुने भन्ने होइन । पीपीसी सिमेन्ट प्रयोग गरेर पनि भवन ढलान भइरहेका छन् । कसैले थाहा नपाएर पीपीसी सिमेन्टले ढलान वा पिल्लर बनाएका छन् भने कतिपयले इञ्जिनियरकै परामर्श लिएर पीपीसी सिमेन्टले बनाएका छन् ।
सबै सिमेन्टको आ–आफ्नै विशेषता छन् । ओपीसीमा क्लिकंरको मात्रा बढी हुने हुँदा पीपीसीभन्दा छिटो सेट हुन्छ । नेपालमा ओपीसी ढलान र पिल्लर बनाउन बढी प्रयोग हुन्छ ।
ओपीसीले ढलान र पिल्लर बनाएपछि इञ्जिनियरको परामर्श अनुसार केही समय पानी हालेर रसाएर राख्नुपर्छ ताकी तापक्रम नमिलेर ढलान फुट्न नपाओस् । पीपीसीले गारो वा प्लास्टर गरेको ठाउँमा इञ्जिनियरको परामर्श अनुसार बेला–बेलामा पानी हाले पुग्छ । सामान्यतया ओपीसी र गुणस्तरीय पीपीसी सिमेन्टको क्षमतामा खासै फरक हुँदैन । दुबै सिमेन्टमा भिन्नता भनेको सेटिङ हुन लाग्ने समयमात्र हो ।
तपाईंले कस्तो खालको स्ट्रक्चर बनाउन खोज्नुभएको छ, इन्जिनियरले स्ट्रक्चरको डिजाइन कस्तो बनाइदिएका छन्, सोही अनुरूप विभिन्न ग्रेडका सिमेन्ट प्रयोग गर्न सकिन्छ । सबैभन्दा ठूलो कुरा आफूले प्रयोग गरेको सिमेन्टको क्वालिटी कन्सिस्टेन्सी (गुणस्तर एकरूपता) हुनुपर्छ । जस्तो कि तपाईंले कुनै पनि कम्पनीको सिमेन्ट जुनसुकै खबत खरिद गर्दा पनि गुणस्तरको नतिजा समान हुनुपर्छ ।
इन्जिनियरले स्ट्रक्चर डिजाइन गर्दा नै कुनचाहिँ ग्रेडको सिमेन्ट प्रयोग गर्ने भनेर निर्णय गरिसकेका हुन्छन् । सामान्यतया ठूलो भवनकालागि ५३ वा ४३ ग्रेडको सिमेन्ट खोजी गरिन्छ । तर, भवन बनाउँदा अनिवार्य यती नै ग्रेडको सिमेन्ट चाहिन्छ भन्ने होइन, भवनको डिजाइनअनुसार सिमेन्टको ग्रेड प्रयोग गर्दा संरचना बलियो बन्छ ।
तपाईंले बनाउन लागेको भवनलाई कति ‘स्ट्रेन्थ’ चाहिन्छ, कुन ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्ने हुन्छ, स्ट्रेन्थ ल्याउन गिट्टी, बालुवा, सिमेन्ट, केमिकल र पानीको रेसियो कति हुनुपर्छ भन्ने कुरा भवनको डिजाइनमै तय भइसकेको हुन्छ । यो काम इन्जिनियर तथा परामर्शदाताले गर्छन् ।
ग्रेड र एनएस चिन्हबीचको फरक
कतिपय उपभोक्ताहरू सिमेन्टको ग्रेड र नेपाल गुणस्तर (एनएस) चिन्हबीच भ्रमित पनि हुन सक्छन् ।
सिमेन्टको ग्रेड भनेको भारवाहक क्षमता हो । यो सिमेन्टको स्ट्रेन्थ हो । नेपालमा ओपीसी सिमेन्ट ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेडमा उपलब्ध छ । संरचनाको डिजाइनअनुसार विभिन्न ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ । घर बनाउनकालागि धेरैजसो ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको छ । र, यो नै उपयुक्त हुन्छ । ठूलठूला भवन र पूर्वाधारमा ५३ ग्रेडको सिमेन्ट पनि प्रयोग भइरहेको छ । उद्योगले उत्पादन गरेको सिमेन्ट गुणस्तरीय भए नभएको अध्ययन र मूल्यांकन गरेर विभागले नेपाल गुणस्तर (एनएस) चिन्ह प्रदान गर्छ । विभागले समय समयमा उद्योग तथा बजारबाट सिमेन्टको नमुनाहरु ल्याएर परीक्षण गर्छ । गुणस्तर मापदण्ड पूरा भएमा एनएस चिन्ह प्रदान गर्छ । विभागले गुणस्तर चिन्ह प्रदान गरेको सिमेन्ट खरिद गर्दा उपभोक्त ढुक्क हुन सक्छन् । नेपालमा गुणस्तर चिन्त नलिई सिमेन्ट आधिकारिक रुपमा बिक्री वितरण गर्न पाइँदैन ।
कहिलेसम्म प्रयोग गर्न सकिन्छ ?
सिमेन्ट कसरी भण्डारण गरिएको छ भन्ने कुराले यसको प्रयोग गर्न मिल्ने आयु निर्धारण हुन्छ । राम्रोसँग भण्डारण गरेको सिमेन्ट उत्पादन मितिले तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।
भण्डारण गर्ने तरिका
सिमेन्ट भण्डारण गर्दा निकै होसियारी अपनाउनुपर्छ । सिमेन्टले ओस पटक्कै मन पराउँदैन । सिमेन्टलाई खुला ठाउँ वा ओसिलो ठाउँमा राख्यो भने डल्ला पर्छ । डल्ला परेको सिमेन्टले राम्रोसँग काम गर्दैन । ओसिलो ठाउँमा राख्यो भने सिमेन्ट एकै दिनमा पनि बिग्रिन सक्छ ।
तर, सिमेन्टलाई सुक्खा बन्द कोठाभित्र, पानी र हावा नछिर्ने गरी त्रिपालले छोपेर राख्नुभयो भने तीन महिनासम्म पनि प्रयोग गर्न सकिन्छ ।
घोल बनाउँदा ध्यान दिनुपर्ने कुरा
यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । सिमेन्ट भनेको केमिकल ब्लाइन्डर मात्र हो । तपाईंको स्ट्रक्चर अनुसारको घोल बनाउनै पर्छ । सिमेन्ट, गिट्टी, बालुवाको घोल बनाउँदा पानीको धेरै ठूलो भूमिका हुन्छ । तपाईंले फोहोर पानी प्रयोग गर्न हुँदैन । पिउनयोग्य सफा पानीको प्रयोग गर्नुपर्ने हुन्छ ।
इन्जिनियरले स्ट्रक्चर डिजाइन गर्दा नै कुनचाहिँ ग्रेडको सिमेन्ट प्रयोग गर्ने भनेर निर्णय गरिसकेका हुन्छन् । सामान्यतया ठूलो भवनकालागि ५३ वा ४३ ग्रेडको सिमेन्ट खोजी गरिन्छ । तर, भवन बनाउँदा अनिवार्य यती नै ग्रेडको सिमेन्ट चाहिन्छ भन्ने होइन, भवनको डिजाइनअनुसार सिमेन्टको ग्रेड प्रयोग गर्दा संरचना बलियो बन्छ ।
इन्जिनियर वा अनुभवी मिस्त्रीले पानी र सिमेन्टको रेसियो निकालेर मात्र घोल बनाउनुपर्छ । घोलमा धेरै पानी भए पनि राम्रो हुँदैन, पानी कम भएपनि राम्रो काम गर्दैन ।
घोल बनाउँदा गिट्टी, बालुवा र पानी सफा हुनुपर्छ । अनिमात्र ढलान पनि बलियो हुन्छ । मापदण्ड अनुसारको गिट्टी र बालुवा प्रयोग गर्नुहोस् । बालुवामा माटो मिसिएको हुनुहुँदैन, सिमेन्टले राम्ररी काम गर्न सक्दैन । संरचनाको डिजाइन अनुसार गिट्टी, बालुवा, पानी र सिमेन्टको रेसियो मिलाउन सकियो भने निर्माण बलियो हुन्छ ।
तपाईंले सिमेन्ट पनि राम्रो किन्नुभयो । गिट्टी र बालुवा पनि गुणस्तर मापदण्डअनुरूप किन्नुभयो । तर, काम गर्ने मान्छेले राम्रोसँग घोल बनाइदिएन भने जतिसुकै राम्रो सिमेन्ट, गिट्टी र बालुवा भएपनि बलियो हुँदैन । घोल बनाउने मान्छे अनुभवी हुनुपर्छ । इन्जिनियर वा परामर्शदाताको सल्लाह लिनुपर्छ । घोल बनाएर फर्मामा राखेपछि पनि राम्रोसँग खाँद्नु पर्छ ।
सिमेन्टबारे सामान्य भ्रम
कतिपय उपभोक्ता सिमेन्टका बारेमा केही भ्रम पालेर बसेका हुन सक्छन् । अहिले बजारमा दर्जनौँ ब्रान्डका सिमेन्ट पाइन्छन् । हामीले इञ्जिनियर वा परामर्शदाताको सल्लाह अनुसार संरचनाको डिजाइन अनुसारको सिमेन्ट प्रयोग गर्नुपर्ने हुन्छ । तर, कतिपय उपभोक्तालाई ‘सिमेन्ट भनेको जुन पनि उही त हो नि !’ भन्ने भ्रम हुन सक्छ । यो बुझ्नुपर्छ कि सबै सिमेन्ट एउटै गुणस्तरको नहुन पनि सक्छन् । निर्माण कार्य गर्दा चाहिए अनुसारको सिमेन्ट प्रयोग गर्नु पर्छ ।
बजारमा कुन सिमेन्ट बढी प्रयोग भइरहेको छ ? कुन सिमेन्ट प्रयोगकर्ताले रुचाइरहेका छन् ? कुन सिमेन्टले कस्तो संरचना बनिरहेका छन् ? विभिन्न कोणबाट हेर्न सकिन्छ । ब्रान्ड भनेको आ–आफ्नो विश्वास पनि हो ।
सबैभन्दा पहिला गुणस्तर मापदण्ड अनुसारको सिमेन्ट बनेको छ कि छैन हेर्नुपर्छ । इन्जिनियर र ठेकेदार कम्पनीलाई पनि सिमेन्टका बारेमा धेरै कुरा थाहा हुन्छ ।
कतिपयलाई लाग्न सक्छ, सिमेन्ट अलिकति धेरै राख्यो भने घर बलियो हुन्छ । यो पनि भ्रममात्र हो । सिमेन्ट बढी राखेर घर बलियो हुने होइन । सिमेन्ट बढी हाल्न पनि हुँदैन र कम हालेर पनि हुँदैन । सिमेन्ट, पानी, गिट्टी र बालुवाको सही मिश्रणले मात्र गुणस्तरीय निर्माण कार्य गर्न सकिन्छ । यदि मिश्रण राम्रो नभएमा जुनसुकै ब्रान्ड तथा ग्रेडको सिमेन्ट राखेपनि संरचना बलियो हुँदैन ।
सिमेन्ट र नुनको एउटै विशेषता हुन्छ, कम हुँदा खल्लो र बढी हुँदा चर्को ।
यदि भवनको डिजाइन ४३ ग्रेडको सिमेन्टलाई सुहाउने गरी गरिएको छ, तर ५३ ग्रेड सिमेन्ट प्रयोग गर्दैमा थप बलियो हुने भन्ने होइन । घोलमा सिमेन्टको मात्रा पनि ठिक्क हुनुपर्छ । रेसियोभन्दा बढी वा घटी सिमेन्ट प्रयोग गर्दा निर्माण मजबुत हुँदैन । त्यसैले तरकारी स्वादिलो हुनका लागि जसरी नुन ठिक्क राख्नुपर्छ, त्यसैगरी निर्माण कार्यमा पनि प्राविधिकले तोकेअनुसार नै सिमेन्टको मात्रा प्रयोग गर्नुपर्छ ।
उपभोक्ताले सिमेन्ट किन्दा ध्यान दिनुपर्ने कुरा
सिमेन्ट खरिद गर्दा सबैभन्दा पहिला सिमेन्ट कहिले बनेको हो ? भनेर उत्पादन मिति हेर्नुपर्छ । सिमेन्टमा डल्ला र गिर्खा परेको छ कि भनेर जाँच्नुपर्छ । सिमेन्टको बोरा प्वाल परे÷नपरेको पनि हेर्नुपर्छ ।
सिमेन्ट खरिद गर्दा नेपाल गुणस्तर चिन्ह छ कि छैन त्यो पनि हेर्नुपर्छ । उत्पादन मितिले तीन महिनाभन्दा बढी समय गुज्रिएको सिमेन्ट किन्न हुँदैन ।
Source : Nepal Homes
No comments:
Post a Comment