प्रार्थना के हो ? कसैसँग गरिएको निवेदन । उसो त प्रार्थनाको थुप्रै अर्थ छन्- व्याकरण अनुसार निवेदनपूर्वक माग्नु अर्थात् प्रार्थना । अध्यात्म भन्छ, परम को कामना गर्नु वा पवित्र मनले अर्चना गर्नु । जब संसारका सामु झुकेर केही मागिन्छ त्यो प्रार्थना नभै सहज निवेदन हुन्छ तर जब यही निवेदन संसारलाई नभई परमात्मालाई खुसी पार्नका लागि गरिन्छ त्यो प्रार्थना बन्नपुग्छ । व्याकरण तथा ग्रन्थहरूले बताएका थुप्रै अर्थमध्ये एक हो-पवित्रतापूर्वक गरिएको अर्चना अर्थात् परमको कामना गर्दै गरिने पवित्र अर्चना ।
मानिसहरू भगवानको भाकल गर्छन् । कहिले धन, कहिले प्रसाद चढाउने कुरा गर्छन् त कहिले व्रत बस्छन् । प्रार्थना र भाकलमा धेरै फरक छ । भाकल उसबाट केही कुरा प्राप्त गर्नका लागि गरिन्छ भने प्रार्थना उसैलाई प्राप्त गर्ने उद्देश्यले गरिन्छ । केवल मन्त्र भट्याएर, मन्दिर तथा मूर्तिको परिक्रमा गरेर वा किलो दुई किलो प्रसादको भोग लगाएर प्रार्थना हुन सक्दैन, प्रार्थना तब मात्र हुन्छ जब व्यक्तिले मनको भाषा बोल्छ, मनैदेखि बोल्छ । भगवानलाई लोभ देखाउनु आफ्नै तुच्छता प्रदर्शन मात्र हो, आफ्नो लोभको प्रकटीकरण मात्र हो । लोभ मानिसका लागि हो, भगवानको लागि भक्त महत्वपूर्ण हुन्छ न कि प्रसाद र भोग । जब सम्पूर्ण बासनाबाट माथि उठेर केवल उही परमानन्दलाई प्राप्त गर्ने प्रयास मनैदेखि गरिन्छ, हामीभित्र प्रार्थना गुन्जन थाल्छ । प्रार्थना मन्त्रहरूको उच्चारण मात्र होइन, मनको आवाज हो जो परमात्मासम्म पुग्नुपर्छ । मनैदेखि भएन भने त्यो शब्द तथा छन्द मात्र हुन्छ, त्यसमा प्राण हुँदैन । प्रार्थना हृदयबाट निस्कन्छ । मनैदेखि पुकार गरिएन भने त्यो आवाज ऊसम्म पुग्न सक्दैन । परमात्मासम्म पुग्नु छ भने मुख बन्द गरेर हृदयबाट बोल्न सुरु गर्नुपर्छ । उसले मनको कुरा वा भाव सुन्दछ, मुखको होइन ।
प्रार्थना निर्विकल्प हुन्छ, यसको कुनै विकल्प छैन । परमात्मालाई प्राप्त गर्ने हो भने बाटो यही हो । प्रार्थना परमात्मालाई नै माग्नका लागि हुनुपर्छ, उसको कृपाका लागि हुनुपर्छ । ऊसँग केही प्राप्त गर्नका लागि त माग्ने अनेकौं उपाय छन् तर उसैलाई माग्न भने एउटै उपाय छ त्यो हो मनैदेखि माग्नु । हृदयभित्र रसाएर निस्किएको आवाज मात्र ऊसम्म पुग्न समर्थ हुन्छ । ग्रन्थहरूमा भनिएको पनि छ- परमात्मा केवल हृदयको आवाज सुन्दछ, आत्माको आवाज सुन्दछ किनभने आत्मा उसैको अंश हो । जबसम्म आत्मादेखि नै पुकार गरिँदैन तबसम्म उसले कुनै कुरा सुन्दैन । सबैभन्दा महत्वपूर्ण कुरा त के भने प्रार्थना गरेर हुँदैन यो गर्ने कुरा पनि होइन । यो त घटित हुने कुरा हो । प्रार्थकाका केही नियम छन् । केही यस्ता नियम छन् जसलाई प्रार्थना गर्दा ध्यान पुर्याउनुपर्छ ।
पहिलो नियम : कुनै पनि वासनाबाट टाढा रहनुपर्छ । सन्तहरूले भनेका छन्-वासना जसको नाम एषणा पनि हो । एषणा तीन प्रकारको हुन्छ- पुत्रेषणा, वित्तेषणा तथा लोकेषणा अर्थात् सन्तानको कामना, धनको कामना एवं प्रसिद्धिको कामना । जब मानिस यी सबै एषणाबाट माथि उठेर केवल परमतत्व प्राप्तिका लागि परमात्माको अगाडि खडा हुन्छ, त्यति नै बेला प्रार्थना घटित हुन्छ । त्यो परम तत्वलाई प्राप्त गर्ने मानवको तीव्र चाहनाले ऊभित्रबाट गुन्जने हरेक शब्दलाई मन्त्र बनाइदिन्छ जहाँ मन्त्र गौण बन्नपुग्छ अर्थात् उसले बोलेका हरेक अक्षर नै मन्त्र हुन्छन् ।
दोस्रो नियम : प्रार्थना एक्लै गर्ने होइन, एकान्तमा गर्नुपर्छ । एक्लोपन तथा एकान्तमा ठूलो आध्यात्मिक अन्तर छ । एक्लोपनले अवसाद निम्त्याउँछ, किनभने एक्लोपनको अर्थ मानिस संसारबाट त विमुख भयो तर परमात्माको सम्मुख गएन । एकान्तको अर्थ हो- मानिस बाहिरी रूपले त एक्लो देखिन्छ तर भित्री रूपमा ऊ परमात्मासँग छ । संसारबाट वैराग्य एवं परमात्माप्रतिको अनुरागबाट एकान्तको जन्म हुन्छ अर्थात् एकको अन्त हुन्छ । बाहिरी रूपले एक्लै हुनुहुन्छ तर परमात्मासँग जोडिनुभएको छ र भित्री रूपले परमात्माप्रति प्रेम सिर्जना भएको छ भने बुझौं, जीवनमा एकान्त सिर्जना भयो । यसकारण पहिले एक्लोपनलाई एकान्तमा बदल्न सक्नुपर्छ अनि स्वतः प्रार्थनाको जन्म हुन्छ ।
तेस्रो नियम : परमात्मासँग केवल उसकै मात्र माग हुनुपर्छ । प्रार्थना सांसारिक सुखका लागि मन्दिर-मन्दिरमा फिराद गर्दै चहार्न भन्दैन, जब परमात्मासँग उसैलाई मागिन्छ, जीवनमा उसको पदार्पण माग गरिन्छ तब त्यो प्रार्थना हुन्छ । यसकारण प्रार्थनामा सुख मागियो भने सुख त प्राप्त हुन्छ, परमात्मा हुँदैन । जब परमात्मासँग उसैलाई आफ्नो जीवनमा निमन्त्रण गरिन्छ तब परमात्मासँग संसारका सबै सुख त आउँछन् नै, परमानन्द समेत प्राप्त हुन्छ । जीससले भनेका पनि छन्- ‘पहिले तिमी ईश्वरको राज्य खोज, ईश्वरको राज्य प्राप्त भइसकेपछि तिमीलाई सारा कुरा दिइनेछ ।’ केवल मन्त्र भट्याएर, मन्दिर तथा मूर्तिको परिक्रमा गरेर वा किलो दुई किलो प्रसादको भोग लगाएर प्रार्थना हुन सक्दैन, प्रार्थना तब मात्र हुन्छ जब व्यक्तिले मनको भाषा बोल्छ, मनैदेखि बोल्छ ।
चौथो नियम : प्रार्थनामा आफ्ना लागि परमात्माको माग गर्ने क्रममा अरूको सुखशान्तिको कामना पनि गर्नुपर्छ । यसरी गरिने प्रार्थनालाई निःस्वार्थ प्रार्थना भनिन्छ । कहिलेकाहीँ आफूसँग सम्बन्धित नभएका मानिसका लागि समेत भगवानसित माग्नुपर्छ अर्थात् अरूका लागि माग्नुपर्छ । यसबाट आफूलाई जुन शान्ति तथा तृप्ति मिल्दछ त्यो अतुलनीय हुन्छ ।
पाचौं नियम : आफैंलाई समय दिनुपर्छ । अहिले मानिसले सम्पूर्ण समय अरूका लागि दिइरहेका छन्, आफ्ना लागि पनि समय दिन सिक्नुपर्छ । संचारका साधनबाट टाढा एक दिन, हप्ता वा महिना जति सकिन्छ टाढा ऐकान्तिक भएर बस्ने प्रयास गर्नुपर्छ । जीवनका हरेक पक्षहरूलाई नियाल्दै परमात्मा प्राप्ति एवं आत्मिक शान्तिका लागि आजसम्म के के गरियो त्यसमाथि विचार गर्नुपर्छ । यसरी आफैंसँग बिताइएको समयले जीवनमा नयाँ दिशा प्रदान गर्छ ।
छैटौं नियम : आफैंलाई परीक्षण गर्नुपर्छ । आफ्नो प्रार्थना उचित दिशामा गइरहेको छ कि छैन जाँच्नुपर्छ । दुःखको समयमा समेत आफू एक्लै नभएर कसैको साथमा छु भन्ने आभास प्रबल हुन थाल्यो भने सम्झिनुहोस्, तपाई परमात्माको साथमा हुनुहुन्छ । दुःखका समयमा आफूलाई एक्लो, हारेको, थकित एवं चिन्तित महसुस गरिन्छ भने बुझ्नुपर्छ, तपाईंको प्रार्थना परमात्मासम्म पुगेको छैन । नमागिकन नै सबै कुरा प्राप्त हुनु नै प्रार्थना हो । विपरीत परिस्थितिमा समेत सहज मुस्कानका साथ संसारको सामना गर्नसक्ने शक्ति विकास भयो भने के बुझ्नुपर्छ भने तपाई परमात्मासँग जोडिनुभएको छ ।
No comments:
Post a Comment