My Slides

Saturday, June 3, 2023

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

 
तराई–मधेसका विद्यालयमा गर्मी बिदा

तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रि-मनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायु जन्य गतिविधि निष्क्रिय प्रायः बनिदिए पछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो । 

मध्य तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा (लु) पनि चल्न थालेको छ, जसकारण दैनिक जनजीवन प्रभावित भएको छ । लु चल्न थालेपछि झापा, पर्सा, सप्तरी, रौतहट, सिराहा, बाँकेका कतिपय पालिकाले विद्यालयको पठनपाठन दुई दिनदेखि एक साता सम्मका लागि बन्द गरेका हुन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष वैशाख पहिलो साता लु चलेकामा फेरि पछिल्लो पाँच दिनदेखि लु चल्न थालेको हो । तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको, हावाहुरी पनि खासै नचलेको र बदली पनि नभएकाले अझै पाँच दिन तापक्रम उच्च नै रहने आकलन मौसमविद्ले गरेका छन् । पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौं सहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ । 

मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी र स्थानीय वायु रहे पनि सक्रिय हुन सकेको छैन, वर्षा नहुँदा गर्मी बढेको हो । प्रि-मनसुनको अवधि समाप्त हुने र मनसुन प्रवेश गर्ने समय नजिकिँदै जाँदा वर्षा हुन नसकेको हो, यसलाई मौसमी संक्रमणकालीन अवस्था पनि भनिन्छ ।

‘सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु चल्न थाल्छ । मौसमविद्हरूका अनुसार तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी भए पनि चर्काे गर्मी छ, कारण लामो समयदेखि वर्षा नहुँदा जमिन पनि तातिएर हो । ‘तापक्रम धेरै हुँदा पनि हावा चल्यो भने धेरै गर्मी महसुस हुँदैन, तर अहिले पहाडी क्षेत्र बाहेकमा हावा चल्न सकेको छैन,’ मौसमविद् महर्जनले भनिन्, ‘यसले गर्मी बढाएको हो ।’ तर, कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा लु चलेको मानिन्छ भनेर छुट्टै मापदण्ड छैन । गर्मीसँगै लु चल्दा चर्को गर्मी महसुस हुने गरेको छ । दिउँसोको समयमा यहाँ हिँडडुल गर्नेको संख्या एकदमै न्यून छ ।

मध्य तराईमा विषम लु

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पाँच दिनदेखि मध्यतराईका बारा, पर्सा, सिराहा, रौतहट, धनुषा, रुपन्देही लगायत जिल्लामा अधिकतम तापक्रम चेतावनीको स्तर पार गरेर विषम लु चल्न थालेको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी तापक्रम रौतहटको गौरमा ४२.६ डिग्री मापन भएको छ । त्यहाँ सोमबार ४१.३, मंगलबार ४२.३, बुधबार ४३.३ र बिहीबार ४२.६ डिग्री मापन भएको थियो । जनकपुरमा बिहीबार ३८.६ डिग्री मापन भएकामा शुक्रबार बढेर ४०.४ डिग्री पुगेको छ । शुक्रबार भैरहवा र सिमरामा ४०.५ डिग्री मापन भएको छ । ‘मध्यतराईका जिल्लामा लु बढी चल्न थालेको छ, त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने । यसअघि वैशाख पहिलो साता भैरहवाको तापक्रम ४२.२ डिग्री नाघेको थियो । त्यसपछि वेलावेला वर्षा हुँदा तापक्रम अनुकूल भए पनि फेरि गर्मी बढेको हो । 

शुक्रबार धनगढीको तापक्रम ३७.८, नेपालगन्जमा ३८.६ र धरानमा ३७.१ डिग्री मापन भएको छ । पहाडी क्षेत्र त्यसमा पनि उपत्यका क्षेत्रमा तापक्रम उच्च छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री मापन भएको छ । त्यसबाहेक दिपायलमा ३१.२, वीरेन्द्रनगर (सुर्खेत)मा ३६.८, घोराहीमा ३५.६, पोखरामा ३३.८ र धनकुटामा ३०.४ डिग्री मापन भएको छ । पछिल्लो २४ घन्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । 

अत्यधिक गर्मी पछि मधेसका विद्यालयमा धमाधम बिदा

अत्यधिक गर्मी बढेसँगै मधेस प्रदेशका पालिकाले विद्यालय धमाधम बन्द गर्न थालेका छन् । अत्यधिक गर्मी बढेपछि बालबालिकामा स्वास्थ्य समस्या देखिने तथा पठनपाठन प्रभावित हुने समस्या देखिएपछि पालिकाहरूले विद्यालय बन्दको निर्णय गर्न थालेका हुन् । जनकपुर सहित यस क्षेत्रको दैनिक तापक्रम बिहान २८ र दिउँसो ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । 


जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार १९ देखि २६ जेठसम्म विद्यालय बन्दको निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित भएकाले बर्खे बिदामा कट्टा हुने गरी आठ दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको जनकपुरधाम उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सप्तरीको राजविराज नगरपालिकाले १९ देखि २३ जेठसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि २३ जेठसम्म बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहने राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनले जारी गरेको सूचनामा उल्लेख छ ।

सिराहाको लहान नगरपालिकाले पनि शुक्रबारदेखि २६ जेठसम्मका लागि पालिकाभित्र रहेका बालकक्षादेखि १२ कक्षासम्मका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बर्खे बिदामा कट्टा गर्ने गरी बिदा दिइएको सो पालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ । सूचनाअनुसार बालविकासदेखि १२ कक्षासम्मको पढाइ हुँदै आएका नगर क्षेत्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहनेछन् ।

रौतहटका स्थानीय तहले पनि धमाधम विद्यालय बिदा दिन थालेका छन् । बिहीबार सूचना निकालेर चन्द्रपुर नगरपालिकाले नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायत गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बिदा दिने निर्णय भएको कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताए । सो नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाले पनि एक साताकै लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए । गौर नगरपालिकाले समेत बढ्दो गर्मीलाई मध्यनजर गरेर एक साता विद्यालय बन्द गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए ।

पर्साका १४ मध्ये ६ वटा पालिकाका विद्यालयमा गर्मी बिदा दिइएको छ । गर्मीका कारण पठनपाठनमा समस्या हुन थालेपछि वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिका तथा बिन्दवासिनी, छिपहरमाई, पकाहा मैनपुर र पटेर्वा सुगौली गाउँपालिकाले विद्यालयमा गर्मी बिदाको घोषणा गरेका हुन् । यी पालिकामध्ये कतिपयले १९ देखि २६ जेठ र अन्यले २८ जेठसम्म पठनपाठन रोकेका हुन् ।

गर्मीका कारण विद्यालयमा बालबालिका बेहोस हुने, ज्वरो आउने क्रम बढेपछि केही दिनका लागि विद्यालय बन्द गर्न अभिभावकले माग गर्न थालेका थिए । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४० डिग्रीसम्म पुग्ने गरेकाले दैनिक कामकाज गर्नसमेत समस्या हुने गरेको छ ।

चितवनमा इच्छाकामनाबाहेकका सबै पालिकाले दिए बिदा 

चितवनमा इच्छाकामना गाउँपालिकाबाहेक सबै पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले विद्यालय बन्द गरिसकेका छन् भने भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले पनि विद्यालय बन्दको घोषणा गरेका छन् ।

स्थानीय बिदा र बर्खे बिदाबाट कटौती हुने गरी १९ देखि २४ जेठसम्म खैरहनी, राप्ती, रत्ननगर नगरपालिकाले पाँच दिन बिदा गरेका छन् । यस्तै, माडी नगरपालिकाले २१ गतेसम्म विद्यालय बन्द गरेको छ । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले पनि २१ देखि २६ जेठसम्म विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पहाडी भेग भएकाले बिदाको नगरेको बताए । यद्यपि, धेरै विद्यार्थी तर साँघुरो र कम कक्षाकोठा भएका विद्यालयले आफैँले निर्णय गरेर बिदा गरेको उनले जानकारी दिए । 

बाँकेमा नेपालगन्ज र खजुराका विद्यालय बन्द 

लु चलेपछि नेपालगन्ज र खजुराका विद्यालय बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २१ देखि २३ जेठसम्म विद्यालयको पठनपाठन रोक्ने निर्णय गरे पनि यहाँका विद्यालयले दुई सातासम्मका लागि पढाइ रोकेका छन् । प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले निजी विद्यालयले १० देखि १४ दिनसम्म बिदा दिएको बताए । 

नेपालगन्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा बर्खे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय भएको छ । 

खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालयमा बिदा दिएको छ । अत्यधिक गर्मीले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न पनि समस्या भएपछि आइतबारदेखि तीन दिनका लागि बिदाको निर्णय भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।

झापाका १५ वटै पालिकाका विद्यालयमा बिदा 

झापाका १५ वटै पालिकाले विद्यालयमा बिदा दिएका छन् । यहाँका विद्यालयमा एकदेखि पाँच दिनसम्म विद्यालयमा बिदा दिएका हुन् । दक्षिणी क्षेत्रका अधिकांश विद्यालयले कक्षाकोठामा पंखा पनि नहुँदा गर्मीमा बाहिर चौर र रूखको छहारीमुनि कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । गर्मी बढेपछि विद्यालयमा पढ्न र पढाउन नसक्ने अवस्था आएपछि स्थानीय तहले बर्खे बिदामा मिलान हुने गरी बिदा दिएका हुन् । सबैभन्दा कम बिदा कन्काई नगरपालिकाले दिएको छ ।

अर्जुनधारा, भद्रपुर नगरपालिका, कचनकवल, बुद्धशान्ति, झापा र हल्दीबारी गाउँपालिकाले पाँच दिन बिदा दिएका छन् । बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाले तीन दिन बिदा दिएका छन् । मेचीनगर, दमक र शिवसताक्षी नगरपालिकाले दुई दिन बिदा दिएका छन् । यस्तै, गौरादह नगरपालिका, गौरीगन्ज र बाह्रदशी गाउँपालिकाले तीन दिन बिदा दिएका छन् ।

बुटवलमा असार पहिलो सातासम्म विद्यालय बन्द

बुटवलका विद्यालय ८ असारसम्मका लागि बिदा भएका छन् । वार्षिक शैक्षिक क्यालेन्डरअनुसार यहाँका विद्यालयमा १६ जेठदेखि ८ असारसम्म बिदा भएको हो । बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल वार्षिक बिदा तय गर्न विगतमा कार्यदल बनाइएको र त्यही कार्यदलको सुझावबमोजिम वार्षिक क्यालेन्डर बनेको बताउँछन् । कार्यदलले तय गरेबमोजिम गर्मी तथा जाडो बिदाका अतिरिक्त स्थानीय बिदासहितको क्यालेन्डर बुटवलमा बनेको छ । ‘क्यालेन्डरबमोजिम बिदा गरिएको हो, यही समयमा गर्मी पनि बढेको छ,’ खनालले भने । उनका अनुसार बुटवलका सबै विद्यालयलाई शैक्षिक क्यालेन्डरअनुसार बिदा दिन भनिएको बताए ।

लुबाट कसरी जोगिने ?

तातो हावा अर्थात् लुबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत हुन् । लुबाट बच्न बढी गर्मीयाममा घरभित्र वा अनुकूल मौसम रहेको स्थानमा रहने, दिउँसो बाहिर नजाने, जानै परेमा छाता ओढ्ने, टाउको छोप्ने, टोपी लगाउने, घाममा बढी नबस्ने, हल्का तथा सुतीका लुगा लगाउने, पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहनुपर्छ । 

झापामा चिरञ्जीवी घिमिरे, जनकपुरधाममा हदिश खुद्दार, वीरगन्जमा तिवारी यादव, रौतहटमा अशोक पहाडी, भरतपुरमा विवेक पोख्रेल, बुटवलमा विष्णु घिमिरे र बाँकेमा विश्वराज पछल्डङ्ग्या

साभार : नयाँ पत्रिका 

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender